धरान / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंगदेनले सोमबार धरानस्थित पिण्डेश्वर मन्दिरमा आएर जल चढाएका छन् ।
जल अर्पणपछि बोल्दै अध्यक्ष लिंगदेनले साउन महिनादेखि शुरु हुने गरी नविन राप्रपा कार्ययोजना लागू गरेको बताउदै आजैबाट कार्यप्रारम्भ गर्ने बताए ।
उनले संगठनात्मक कार्य योजना शुरु गर्ने क्रममा धरान उपमहानगरपालिका वडा नं १४ को विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा जल चढाएको बताए ।
उनले बालगोपाल मन्दिर छेउमा बनेको चर्चको विषयमा चर्च र मन्दिरको विवादमात्र हैन ०६२ –०६३ को जनआन्दोलको राजनीतिक परिवर्तनपछि जनचाहना विपरीत, वहुसंख्यक जनताको भावना विपरीत जरजस्ती धर्मनिरपेक्षता कायम गर्दाको परिणाम भएको बताए ।
उनले धर्म निरपेक्षताको आडमा अन्य ठाउँमा पनि यस्तै अतिक्रमण बढ्दै जाने बताउँदै उनले आफू पिण्डेश्वर बाबाधामको दर्शन गर्न आएकोले धार्मिक विवादको विषयमा नबोल्ने स्पष्ट पारे ।
उनले धर्म निरपेक्षतालाई पालेर राखेसम्म यस्ता धेरै समस्या आइरहने भएकोले नेपालमा धर्मनिरपेक्षता सम्भव नहुने, यसले देशको हित नगर्ने बताउदै मुलुक हिन्दु राष्ट्र नै कायम हुनुपर्ने अडान राखे ।
हिन्दु धर्मालम्बीहरुको आस्थाको केन्द्रविन्दुमाथि आँच नपुगोस् भन्ने अभिप्रायले राप्रपा नेपालले देश भरका सम्पूर्ण मठमन्दिर भ्रमण गर्ने अभियान चलाएको उनले भनाई थियो ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी धरान नगर महिला कमिटीकी अध्यक्ष सीता मैनालीले लिंगदेनको आगमनले विजयपुर धार्मिक पर्यटकीय क्षेत्रको विकास गर्न सहज हुने बताइन् ।
विजयपुर ऐतिहासिक तथा पुरातात्विक धार्मिक क्षेत्र भएकोले राप्रपाका अध्यक्ष लिंगदनको आगमनलाई थप मद्धत पुग्ने धरान उपमहानगरपालिका वडा नं.१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए ।
लिंगदेनले पिण्डेश्वर मन्दिरमा जल चढाएपछि विजयपुरमा रहेका दन्तकाली, बुढाुब्बा मन्दिरमा समेत पुगेर दर्शन गरेका थिए । सो अवसरमा राप्रपाका कार्यकर्ता, धर्मप्रति आस्था राख्नेहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।