सुर्तीजन्य पदार्थको बिक्रीवितरणको अनुमतिपत्र साउन १ गतेदेखि खारेज "नियन्त्रण अभियानमा साथ दिन मेयर कोइरालाको आग्रह"

  • असार १५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर /  विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सुर्तीजन्य पदार्थको बिक्रीवितरणका लागि दिइएको अनुमतिपत्र साउन १ गतेदेखि खारेज गर्ने बताउनु भएको छ ।

विराटनगर वडा नम्बर १० को आर्थिक सहयोगमा नेपाल प्रेस इन्स्टिच्यूटले आयोजना गरेको आधारभूत पत्रकारिता तथा रेडियो उद्घोषण तालिमको समापन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले सुर्तीजन्य पदार्थको सेवनका कारण स्वास्थ्य र महानगरको सरसफाईमा प्रतिकूल असर परेको बताउँदै नियन्त्रण अभियानमा साथ दिन महानगरवासीसित आग्रह गर्नुभयो ।

उहाँले साउन १ गतेदेखि सुर्तीजन्य पदार्थ बिक्रीका लागि नयाँ अनुमति नदिने र यसअघि दिइसकेका अनुमतिपत्र पनि नवीकरण नगर्ने प्रस्ट पार्नुभयो । “सुर्तीजन्य पदार्थको सेवनका कारण क्यान्सरजस्ता जटिल रोगका बिरामीहरु बढ्दै गएका छन् ।

सुर्तीजन्य पदार्थबाट प्राप्त हुने करभन्दा सयौं गुणा बढी उपचारका लागि सरकारको बजेट खर्च भइरहेको छ,”

मेयर कोइरालाले भन्नुभयो, “त्यसमाथि खोलका कारण र गुट्खा खाएर थुक्दा सहरको सौन्दर्यतामा समेत ह्रास आएको छ ।” महानगरले सुरु गरेको अभियानमा साथ दिन उहाँले महानगरवासीसित आग्रहसमेत गर्नुभयो । महानगरको एक्लो प्रयासले मात्रै विराटनगर बनाउन नसकिने बताउँदै मेयर कोइरालाले हरेक नागरिकले आफ्नो दायित्व पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “एक वर्षअघि नै हामीले टोल फ्रि नम्बर सञ्चालनमा ल्याइसकेका छौं, कतै फोहोर गरेको पाउनु भयो, सुर्तीजन्य पदार्थ बिक्री गरेको पाउनु भयो या अन्य समस्या परेमा टोल फ्रि नम्बरमा सम्पर्क गरेर सहयोग गर्न सक्नुहुनेछ ।”

उहाँले पछिल्लो समय विराटनगरको पहिचान गुम्दै गएको भन्दै चिन्तासमेत व्यक्त गर्नुभयो । विराटनगरको नयाँ पहिचान खोजी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । मेयर कोइरालाले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।

विभिन्न तालिमका माध्यमबाट विराटनगरका युवाहरुलाई स्वरोजगार बनाउन महानगरले सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।

मेयर कोइरालाले रेडियोको महत्व कहिल्यै नघट्ने उल्लेख गर्नुभयो । वडा नम्बर १० का अध्यक्ष अर्जुन गिरीले चालु आर्थिक वर्ष स्वरोजगारमूलक विभिन्न ६ वटा तालिम सञ्चालन गरेको बताउनुभयो ।

उहाँले जुत्ताचप्पल, अचार, उद्घोषण, लोकसेवा तयारी कक्षालगायतका तालिम सञ्चालन गरेको जानकारी दिनुभयो । विएफएमका कार्यकारी निर्देशक डा. सन्देशदास श्रेष्ठले रेडियोको उपादेयता कहिल्यै नघट्ने दाबी गर्नुभयो ।

उहाँले सुन्ने माध्यम र तरिकामा परिवर्तन भए पनि रेडियोको महत्व सधैं रहने स्पष्ट पार्नुभयो । कार्यक्रममा नेपाल प्रेस इन्स्टिच्यूटका अध्यक्ष मोहन भण्डारी, वरिष्ठ पत्रकार यज्ञ शर्मा, प्रेस इन्स्टिच्यूटका प्रदेश संयोजक वीरेन्द्र शर्मालगायतले तालिमको उद्देश्यलगायतका विषयमा केन्द्रित रहेर मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा शब्द सरोवर प्रालि विराटनगर–११ ले आयोजना गरेको १५ दिने लोकसेवा तयारी कक्षाको समेत समापन गरिएको थियो ।

कार्यक्रममा सहभागिताका तर्फबाट कविता पोखरेल, उपेन्द्र काफ्ले, इसु पन्त, भलि सुब्बा, प्रेमकला डाँगीलगायतले तालिमका विषयमा आफ्ना अनुभव सुनाउनु भएको थियो ।

 

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

प्रा.डा शर्मालाई निम ...

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

अनेमसंघ सुनसरीमा विण ...

धरान । नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल महिला संघ सु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved