हतुवागढीमा तीनदिने सांस्कृतिक जागरण महोत्सव

  • जेठ ९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान  / भोजपुरको हतुवागढी गाउँपालिका–४, फलामढुङ्गामा गत शुक्रबार र शनिबार बेग्लै चहलपहल थियो । जातीय वेशभूषामा सजिएका नरनारीहरू गाउँ–गाउँबाट भेला भएका कारण त्यहाँ त्यस्तो चहलपहल देखिएको थियो ।

सन्दर्भ थियो – हतुवागढी कला साहित्य संस्कृति तथा जनजाति महोत्सव ।
तीनदिने महोत्सवको प्रारम्भ बिहीबार नै भएको थियो ।

महोत्सवकै अङ्ग बनेको निःशुल्क गजल लेखन प्रशिक्षण बिहीबार बिहान सुरु भएको थियो । प्रशिक्षणमा हतुवागढीका विभिन्न वडामा रहेका विद्यालयहरूबाट २६ जना विद्यार्थी सहभागी भएका थिए । प्रशिक्षणको उद्घाटन हतुवागढी कला, साहित्य तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष कृपालसिंह राईले गरेका थिए ।

उद्घाटन कार्यक्रममा जनसेवा माविका प्रधानाध्यापक जनक राई, शिक्षक टेकबहादुर राईलगायत उपस्थित थिए । महोत्सवअन्तर्गत प्रशिक्षण तीन दिनसम्म चलेको थियो ।
मुख्य प्रशिक्षकका रूपमा उपप्राध्यापक एवम् साहित्यकार राजेश विद्रोहीले सहजीकरण गरेका थिए भने साहित्यकार श्रीशिशा राईले पनि सहजीकरण गरेका थिए ।

प्रशिक्षणमा कक्षा ८ देखि ११ सम्मका विद्यार्थीहरू सहभागी थिए । आयोजक प्रतिष्ठानका अध्यक्ष कृपालसिंहले विद्यार्थीहरूमा गजल लेखनप्रति रुचि जगाउन कार्यक्रम आयोजना गरिएको बताए ।

‘अहिले गजल लेखनको लहर चलेको छ’, उनले भने, ‘तर प्राविधिक विषय भएकोले यसको लेखन सजिलो छैन ।’ प्राविधिक पक्षबारे जानकारी दिन सकियो भने विद्यार्थीहरूले गजल लेखनमा योगदान दिन सक्ने उनको विश्वास छ ।

गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले भौतिक विकाससँगै सांस्कृतिक विकास पनि गर्नुपर्ने आवश्यकता ठानेर कला, साहित्य र भाषाको विकास र संवद्र्धनका लागि प्रतिष्ठान स्थापना गरिएको जनाए ।

गाउँपालिकाअन्तर्गत गठन गरिएको प्रतिष्ठानका लागि गाउँपालिकाले हरेक वर्ष बजेट विनियोजन गरिदिने गरेको छ । ‘योजना बनाएर बजेट माग्न हामी जानुपर्ने हो’, प्रतिष्ठानका अध्यक्ष कृपालसिंहले भने, ‘तर अध्यक्षज्यू आफैले बुझेर बजेट राखिदिने गर्नुभएको छ ।’

शुक्रबार र शनिबार भने गजल लेखन प्रशिक्षणसँगै अन्य कार्यक्रमहरू पनि भएका थिए । महोत्सवको दोस्रो दिन शुक्रबार गजल लेखन प्रशिक्षणपछि आयोजित कार्यक्रममा जातीय संस्कृतिको संरक्षणमा महŒवपूर्ण योगदान दिने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।

आदिवासी जनजाति महासङ्घका गाउँपालिका समिति अध्यक्ष श्यामकुमार राईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा गाउँपालिकाभित्र बसोवास गर्ने नेवार, तामाङ र मगर समुदायले आ–आफ्नो समुदायको सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

त्यसै दिन राई समुदायको साकेन्वा सिलीको प्रतियोगितात्मक कार्यक्रम थियो । विजेता समूहहरूलाई नगद पुरस्कारसहित ट्रफी पनि प्रदान गरिएको थियो ।
महोत्सवको तेस्रो दिन शनिबार राष्ट्रिय रूपमा चर्चा बटुल्न सफल हतुवागढीकै कलाकार हिरन राईसँगै संस्कृतिविद्हरूलाई सम्मान गरिएको थियो । त्यस क्रममा हिरनसँगै कलाकारहरू सुदेश राई र पूर्ण राईले पनि गीत प्रस्तुत गरेका थिए ।

उत्कृष्ट गजल लेख्ने दुई प्रशिक्षार्थीहरू दीपशिखा राई र तीर्थ विकलाई सो अवसरमा नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । प्रशिक्षार्थीहरूलाई हौसला प्रदान गर्न पुरस्कारको व्यवस्था गरिएको आयोजक प्रतिष्ठानका अध्यक्ष कृपालसिंहले बताए । सोही दिन लोकनृत्य प्रतियोगिता पनि आयोजना गरिएको थियो । सो प्रतियोगितामा विभिन्न नौ समूहले प्रतिष्पर्धा गरेका थिए ।

यो दोस्रो महोत्सव हो । यसअघि २०७६ सालमा पनि महोत्सव आयोजना गरिएको थियो । बीचमा भने कोभिड महामारीका कारण महोत्सव आयोजना गर्न नसकिएको आयोजक प्रतिष्ठानका अध्यक्ष कृपालसिंहले जनाए ।

रोचक त के भने महोत्सवमा सहभागी हुन गाउँ–गाउँबाट आएका स्थानीय कार्यक्रम नसकिएसम्म ढुक्कले बसेका थिए । अघिल्लो पुस्ताका मानिसहरू त जातीय वेशभूषामा सजिएकै थिए, किशोर–किशोरी र युवामा पनि जातीय वेशभूषाप्रति आकर्षण देखिन्थ्यो । साकेन्वा सिलीमा नयाँ पुस्ताको उल्लेख्य सहभागिता थियो । यस्तो सांस्कृतिक पुनर्जारणका लागि गाउँपालिकाको प्रयास प्रशंसनीय भएको श्रीशिशा राई बताउँछन् ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार बम देवानले कला र संस्कृति नै समुदायको पहिचान भएको हुँदा यसको जगेर्ना गर्नु आवश्यक भएकोमा जोड दिए । ‘हतुवागढी सामान्य ठाउँ होइन’, उनले भने, ‘यो ऐतिहासिक थलो हो ।’ आफ्नो भूमिको रक्षाका लागि हजारौँ किरातीहरूले रगत बगाएको हतुवागढीको ऐतिहासिकताको जगेर्ना र प्रचार–प्रसार हुनुपर्ने उनको भनाइ थियो । गाउँपालिका अध्यक्ष प्रेम पनि यस विषयमा सचेत देखिए, तर गर्नुपर्ने क्षेत्र धेरै भएको र बजेट सीमित भएको हुँदा समस्या भएको उनको भनाइ थियो ।

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

कोशीमा नयाँ सरकार बन ...

विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका ने ...

ढुङ्गाले किचेर १ जना ...

ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved