धरान/धरान–१८ स्थित माउन्ट हर्मोन एकेडेमीका विद्यार्थीहरू शुक्रबार साँझ शान्तियात्रामा सहभागी भएका छन् । केही दिनअघि टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाएका हजारौँ नागरिकहरूको आत्माको चिर शान्तिको कामना गर्दै उनीहरूले हातमा बलेको मैनबत्ती बोकेर शान्तियात्रा गरेका हुन् ।
विद्यालय प्राङ्गणबाट सुरु भएको यात्रा बुद्धचोक, रत्नचोक हुँदै विद्यालयमै पुगेर टुङ्गिएको थियो । शुक्रबार नै सुरु भएको दुईदिने चौथो हर्मोनिज स्काउट क्याम्पको क्रममा उनीहरूले शान्तियात्रा गरेका हुन् । त्यसपछि सुरु भएको ‘क्याम्प फायर’ को उद्घाटन नेपाल स्काउटकी राष्ट्रिय प्रशिक्षक निर्मला अधिकारीले गरिन् । दिनभरि विभिन्न क्रियाकलापमा सहभागी भएर थकित भएका स्काउटर विद्यार्थीहरूलाई मनोरञ्जन प्रदान गर्न ‘क्याम्प फायर’ गरिएको स्काउट प्रशिक्षक एवम् स्काउटका १ नम्बर प्रदेश सदस्य हेमन्त भण्डारीले बताए ।
स्काउटको अन्तर्राष्ट्रिय गीतबाट सुरु भएको कार्यक्रममा बालबालिकाहरूले स्काउटकै राष्ट्रिय गीत पनि गाएका थिए । त्यसपछि अर्को गीत गाए –
इन्द्रेणी रङको छ तिम्रो निर्मल संसार
कमलको फूलझैँ तिम्रो कमलो मुहार
साना–साना पाइला, हिँडे ठूला–ठूला आशा बोकेर
बालबालिकाहरूले सुन्दर लयमा गीत गाउँदा वातावरण नै साँच्चै रमाइलो बनेको थियो । कार्यक्रममा सन्तोषी राईले ‘स्केलेटन डान्स’, अन्जुल दोर्जेले ‘लायन डान्स’ र आयाम पाख्रिनले ‘डायनोसर डान्स’ प्रस्तुत गरेका थिए ।
क्याम्पको दोस्रो दिन शनिबार विद्यालयमा छुट्टै वातावरण थियो । स्काउट क्याम्पका विद्यार्थीहरू बिहान ६ बजेदेखि नै विभिन्न क्रियाकलापमा सहभागी थिए भने १० बजेदेखि अभिभावकहरू पनि आउन थाले । अभिभावकहरूमा अधिकांश आमाहरू नै थिए । अभिभावकहरू आइसकेपछि बालबालिकाहरूले आप्mनी आमाको हात समातेर निर्धारित स्थानमा लगेर बसाए । सबैले आप्mनी आमाको हात पुछिदिए ।
उनीहरूले क्रमशः कपालमा तेल लगाइदिए, कपाल कोरिदिए, चिम्टी लगाइदिए अनि निधारमा टीका पनि लगाइदिए । त्यसपछि ढोगिदिएर अङ्गालो मार्दै उनीहरूले आमालाई लड्डु पनि दिए । त्यस क्रममा कक्षा २ मा अध्ययन गर्ने नाम्चुवा राईले पनि आप्mनी आमाप्रति प्रेम दर्साएकी थिइन् । छोरीले दर्साएको प्रेमबाट आपूm खुसी भएको उनकी आमा सिर्जना राईले सुनाइन् । आप्mना सन्तानको प्रेम पाएर त्यहाँ उपस्थित सबै अभिभावकका अनुहार उज्यालो देखिएको थियो ।
केही बालबालिकाले आमाको साटो आएका बुवाप्रति प्रेम दर्साएका थिए । अभिभावकहरूले आप्ना सन्तानलाई हुर्काउँदा बढाउँदा त्याग गरेका कारण अभिभावकप्रति प्रेम दर्साउनु सन्तानको पनि कर्तव्य भएको महसुस गराउन यस्तो कार्यक्रम राखिएको स्काउटका रेन्जर लिडर नवीना मग्रातीले बताइन् । अन्तर्राष्ट्रिय क्षेत्रमा यस्तो कार्यक्रम नियमित रूपमा गर्ने गरिए पनि नेपालमा भने पहिलोपटक गरिएको उनले जानकारी दिइन् ।
त्यसपछि विद्यार्थीहरूले अभिभावकहरूलाई आफैँले तयार पारेका विभिन्न खाद्य परिकार खुवाएका थिए । स्काउट क्याम्पमा सहभागी विद्यार्थीहरूलाई विभिन्न समूहमा बाँडिएको थियो । हरेक समूहले फरक–फरक परिकारहरू बनाएको थियो । दुईदिने क्याम्पमा विद्यार्थीहरूलाई अनुशासन र कर्तव्यसँगै व्यावहारिक ज्ञान प्रदान गरिएको नेपाल स्काउटका धरान नगर समिति संयोजक तथा माउन्ट हर्मन एकेडेमीका निर्देशक अनुप योञ्जन तामाङले जानकारी दिए । विद्यार्थीहरूका लागि कार्यक्रम निकै उपयोगी भएको अनुभव विद्यालयकी अभिभावक उषा तामाङले सुनाइन् ।
माउन्ट हर्मन स्काउट ट्रुपले आयोजना गरेको दुई दिने क्याम्पमा ७० जना विद्यार्थी सहभागी भएको माउन्ट हर्मनका निर्देशक तामाङले जनाए । ‘रमाउँदै सिक्ने’ नारासहित विद्यालय परिसरमै आयोजित क्याम्पअन्तर्गत विद्यार्थीहरू विभिन्न २८ प्रकारका क्रियाकलापमा सहभागी भए । साना बालबालिका राति घर गए भने ठूला बालबालिकालाई भने शुक्रबार राति विद्यालयमै बसेर शनिबार क्याम्प सकिएपछि मात्र घर गए ।