धरान/ सुनसरीको इनरुवामा भन्सार छली गरी ल्याउँदै गरेको १ लाख ५९ हजार रुपैयाँ बराबरको लत्ताकपडासहित मोटरसाइकल प्रहरीले बरामद गरेको छ।
मोटरसाइकल चालक भने प्रहरीलाई देख्नासाथ सवारीसाधन छाडेर फरार भएका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बुधबार बिहान ८ बजे इनरुवा नगरपालिका–२ स्थित हेरा नेशनल स्कुल नजिकै बबियाबाट इनरुवातर्फ आउँदै गरेको को १५ प ३११० नम्बरको मोटरसाइकललाई प्रहरीले देखेको थियो।
प्रहरी टोलीलाई देखेपछि चालकले मोटरसाइकल छाडेर फरार भएका थिए। प्रहरीले मोटरसाइकल जाँच गर्ने क्रममा भन्सार छली गरी ल्याउँदै गरेको अन्दाजी १ लाख ५९ हजार रुपैयाँ बराबरको लत्ताकपडा फेला पारेको हो।
बरामद गरिएको लत्ताकपडा र मोटरसाइकल आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ। फरार चालकको पहिचान तथा खोजी भइरहेको प्रहरीले जनाएको छ।