धरान/ सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिका–८ बाट भारततर्फ लैजाँदै गरेको करिब २३ किलो गाँजासहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुनसरीको हरिनगर गाउँपालिका–१ भुटाहाका ३२ वर्षीय सुशील मला र १९ वर्षीय नितेशकुमार मुखिया रहेका छन्।
सशस्त्र प्रहरी उपरीक्षक लभ सापकोटाका अनुसार सशस्त्र प्रहरी बल नेपाल बीओपी उल्टीबाट खटिएको पैदल गस्ती टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
धानखेतको बाटो हुँदै प्लास्टिकको झोलामा गाँजा बोकेर भारततर्फ जाँदै गरेका उनीहरूको गतिविधि शंकास्पद देखिएपछि जाँच गरिएको थियो। जाँचका क्रममा २३ प्याकेटमा राखिएको २२ किलो ९७६ ग्राम गाँजा बरामद भएको सापकोटाले जानकारी दिए।
पक्राउ परेकाहरूको साथबाट भिभो कम्पनीको एक थान मोबाइलसमेत बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।