विराटनगर/ उद्योग, व्यापार र लगानीको सम्भावना खोज्नेदेखि युवालाई रोजगारी तथा उद्यमशीलतासँग जोड्नेसम्मका गतिविधि समेटेर विराटनगरमा नवौँ विराट एक्स्पो आयोजना हुने भएको छ । उद्योग संगठन मोरङले आगामी पुस २ देखि ११ गतेसम्म १० दिन विराटनगर–१४ स्थित डिग्री क्याम्पसको मैदानमा एक्स्पो सञ्चालन गर्न लागेको हो ।
एक्स्पोमा २७५ भन्दा बढी स्टल रहनेछन् । आयोजकले यसपटकको प्रदर्शनीलाई सामान किनबेच र अवलोकनमा मात्र सीमित नराखी उद्योगी, लगानीकर्ता, विद्यार्थी, किसान, युवा र उद्यमीबीच अवसर तथा सहकार्य विस्तार गर्ने माध्यम बनाउन खोजेको छ ।
उद्योग संगठन मोरङले बुधबार पत्रकार सम्मेलन गरी एक्स्पोको तयारी भइरहेको जानकारी दिएको हो । संगठनका अध्यक्ष नन्दकिशोर राठीले उद्योग व्यवसायको विकासका लागि बजारसँगै दक्ष जनशक्ति, प्रविधि, लगानी र व्यावसायिक सम्बन्ध आवश्यक रहेको बताए ।
यही आवश्यकतालाई सम्बोधन गर्ने गरी यसपटकको एक्स्पोको अवधारणा तयार गरिएको उनको भनाइ छ ।
‘द इकोसिस्टम अफ अपरच्युनिटिज’ अर्थात् अवसरहरूको पारिस्थितिक प्रणालीलाई मूल नारा बनाइएको एक्स्पोमा १० वटा अवसर क्षेत्र र छवटा एकीकृत प्लेटफर्ममार्फत गतिविधि सञ्चालन हुनेछन् । विद्यार्थी र युवालाई पढाइपछि रोजगारी तथा करियर छनोटमा सहयोग पु¥याउने उद्देश्यले ‘लर्न फर द फ्युचर’ कार्यक्रम राखिएको छ । यसमा औद्योगिक स्वचालन, फेसन डिजाइन, कृषि, आतिथ्य सेवा, सौन्दर्य तथा वेलनेस र स्वास्थ्यलगायत आठ क्षेत्रमा सिप तथा तालिमका अवसरबारे जानकारी दिइनेछ ।
स्थानीय उद्योगको अवस्था र आवश्यक जनशक्तिबारे पनि विद्यार्थीलाई परिचित गराइने आयोजकले जनाएको छ । नयाँ व्यवसाय सुरु गर्न चाहने तथा उद्यम सञ्चालन गरिरहेका युवालाई लक्षित गरेर ‘स्टार्टअप एन्ड इन्टरप्रेनरसिप प्याभिलियन’ सञ्चालन हुनेछ । यसमा नयाँ सोच भएका उद्यमको प्रदर्शनी, मेकर स्पेस, डिजाइन थिंकिङ र बुट क्याम्प समावेश गरिनेछ ।
त्यस्तै, उद्योग तथा व्यवसाय सञ्चालनमा आवश्यक पर्ने विभिन्न सेवा एउटै स्थानबाट उपलब्ध गराउने उद्देश्यले ‘बिजनेस डेभलपमेन्ट सर्भिसेज कनेक्ट’ प्लेटफर्म रहनेछ । व्यवसाय दर्ता, कानुनी परामर्श, ब्रान्डिङ, प्याकेजिङ, गुणस्तर परीक्षण, प्रमाणीकरण, ढुवानी तथा बजार पहुँचसम्बन्धी जानकारी र सेवा यसमार्फत जोड्ने तयारी छ ।
एक्स्पोको महत्वपूर्ण कार्यक्रमका रूपमा तीनदिने ‘विराट बिजनेस समिट २०२६–अपरच्युनिटी कनेक्ट’ आयोजना हुनेछ । समिटमा उद्योगी, व्यवसायी, लगानीकर्ता, नीतिनिर्माता तथा विभिन्न क्षेत्रका प्रतिनिधिबीच लगानी र व्यावसायिक विस्तारका विषयमा छलफल हुनेछ ।
समिटमा ‘इन्भेस्ट एन्ड बिल्ड’, ‘कनेक्ट एन्ड एक्सपान्ड’ तथा ‘इन्फ्लुएन्स एन्ड ग्रो’ विषयमा अन्तरक्रिया गरिने एक्स्पो संयोजक विपिन काबराले जानकारी दिए । कोशी प्रदेशका १४ वटै जिल्लाका उद्योग वाणिज्य संघका प्रतिनिधिले आ–आफ्नो जिल्लामा रहेका आर्थिक तथा व्यावसायिक सम्भावना प्रस्तुत गर्नेछन् । नेपाल–भारत र नेपाल–बंगलादेश बिजनेस फोरम, बीटुबी बैठक तथा विषयगत संवादसमेत सञ्चालन हुनेछन् ।
स्थानीय तह र जिल्लामा रहेका लगानीका सम्भावना उजागर गर्न ‘अपरच्युनिटी वाल’ पनि तयार गरिनेछ । यसमा स्थानीय उत्पादन, उपलब्ध कच्चा पदार्थ, पूर्वाधार, प्रविधि, बजार र साझेदारीका सम्भावनाका बारेमा जानकारी राखिने आयोजकको भनाइ छ ।
एक्स्पोमा उद्योग तथा कर्पोरेट क्षेत्रका अतिरिक्त कृषि, घरेलु तथा साना उद्योग, अटोमोबाइल, खाद्य सामग्री र तालिम प्रदायक संस्थाका स्टल रहनेछन् । कोशीका १४ जिल्लाका कृषि उत्पादन, महिला तथा साना उद्यमीका सामग्री र सुनसरी–मोरङ औद्योगिक करिडोरमा उत्पादित वस्तुलाई प्राथमिकता दिइनेछ ।
साँझको समयमा राष्ट्रिय तथा स्थानीय कलाकारका सांस्कृतिक कार्यक्रम पनि सञ्चालन हुनेछन् ।
आयोजकले एक्स्पो अवधिमा २ लाख ५० हजारभन्दा बढी दर्शक भित्राउने र ३ सयभन्दा बढी कम्पनीको सहभागिता गराउने लक्ष्य लिएको छ । त्यस्तै, २५ हजार विद्यार्थीलाई सहभागी गराउने, १ हजार ५ सयभन्दा बढी व्यावसायिक सम्पर्क स्थापित गर्ने, २ हजार युवालाई रोजगारीका अवसरसँग जोड्ने र लगानीका सम्भावना भएका २० वटा स्टार्टअप प्रस्तुत गर्ने लक्ष्य राखिएको छ ।
आयोजकका अनुसार यसपटकको एक्स्पोको उपलब्धि स्टलमा हुने व्यापार वा दर्शकको संख्यामा मात्रै मापन गरिने छैन । उद्योगले आवश्यक जनशक्ति पाउने, युवाले सिप र रोजगारीको बाटो पहिल्याउने, उद्यमीले लगानीकर्ता भेट्ने र स्थानीय उत्पादनले बजार खोज्ने वातावरण निर्माण गर्नु पनि एक्स्पोको मुख्य उद्देश्य हुने आयोजकले जनाएको छ ।