सुनसरी/सुनसरीको बराहक्षेत्रमा घरभित्र लुकाएर राखिएको एक नाले भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।
बन्दुक लुकाएको आरोपमा प्रहरीले ५० वर्षीय मंगल सिंह राईलाई नियन्त्रणमा लिएको छ।
साेमबार साझ बराहक्षेत्र नगरपालिका–१ बान्द्रेटोल निवासी राईको घरमा हातहतियार लुकाएर राखिएको विशेष सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय चतराबाट संयुक्त प्रहरी टोली खटिएको थियो।
प्रहरीले मंगल सिंह राईको घरकोठामा कानुनबमोजिम खानतलासी गर्ने क्रममा भान्सा कोठाको सिलिङमा लुकाएर राखिएको अवस्थामा एक थान एक नाले भरुवा बन्दुक फेला पारेको हो।
बरामद बन्दुकसहित राईलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।