- सांगेतिक तस्बिर
झापा/ झापाको भद्रपुरमा सामान्य विवादका क्रममा दाजुले आफ्नै भाइमाथि छुरा प्रहार गरेका छन् ।
छुरा प्रहारबाट घाइते भएका भाइको अस्पतालमा उपचार भइरहेको छ ।
भद्रपुर नगरपालिका–५ स्थित सुन्दरबस्तीमा आइतबार राति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक मुन्नाकुमार अधिकारीका अनुसार सामान्य विषयमा दुई दाजुभाइबीच विवाद भएको थियो । विवाद बढ्दै गएपछि कुबराजले भाइ बाबुलालमाथि छुरा प्रहार गरेका थिए ।
छुरा प्रहारबाट बाबुलालको घाँटीमा चोट लागेको छ । घाइते उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनापछि फरार भएका कुबराजलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ । प्रहरीले घटनास्थलबाट छुरासमेत बरामद गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।