विराटनगर/ विराट एग्रो लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी अघि बढाएको छ ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता विराट एग्रो लिमिटेड र एनआईसी एसिया क्यापिटल लिमिटेडबीच सम्पन्न भएको हो ।
सम्झौताअनुसार एनआईसी एसिया क्यापिटलले विराट एग्रोलाई संस्थागत परामर्श सेवासहित सर्वसाधारणमा शेयर निष्कासनका लागि आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउनेछ ।
एनआईसी एसिया क्यापिटलले आफ्नो ‘आइडिया टु आईपीओ’ सेवाअन्तर्गत कम्पनी स्थापना कालदेखि आईपीओ जारी गर्ने चरणसम्म आवश्यक पर्ने सम्पूर्ण संस्थागत परामर्श सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।
मोरङ र सुनसरीमा १०० हेक्टरभन्दा बढी जलाशय क्षेत्रफलमा करिब १५० वटा पोखरीमार्फत व्यावसायिक एकीकृत कृषि तथा मत्स्यपालन गर्दै आएको विराट एग्रोले इटहरी–१३ खनार औद्योगिक क्षेत्रमा दैनिक २५ टन उत्पादन क्षमताको आधुनिक फिस फिड प्लान्टमार्फत विभिन्न प्रकारका तैरिने र डुब्ने माछाका दाना उत्पादन तथा बिक्री–वितरण गर्दै आएको छ ।
क्यातथ
कम्पनीले कृषि तथा मत्स्यपालन क्षेत्रको सम्पूर्ण मूल्य शृंखलालाई एकीकृत गर्दै उत्पादन, प्रशोधन, प्याकेजिङ तथा बजारीकरणलाई थप व्यवस्थित र व्यावसायिक बनाउने दीर्घकालीन योजना अघि बढाएको जनाएको छ ।
कम्पनीका अनुसार प्रस्तावित सार्वजनिक शेयर निष्कासनबाट प्राप्त पुँजी उत्पादन क्षमता विस्तार, आधुनिक प्रशोधन प्रविधि तथा व्यावसायिक पूर्वाधार विकासमा परिचालन गरिनेछ ।
विराट एग्रोले आगामी दिनमा ‘फार्म टु मार्केट’ अवधारणाअन्तर्गत आफ्नै फार्ममा माछा उत्पादनदेखि माछाको दाना उत्पादन, आधुनिक प्रशोधन तथा फिलेटिङ, कोल्ड स्टोरेज, प्याकेजिङ र बजार व्यवस्थापनसम्मको एकीकृत व्यावसायिक चक्र विकास गर्ने योजना अघि सारेको छ ।
कम्पनीले पाङ्गास फिलेटिङ तथा फिस प्रोसेसिङ प्लान्ट स्थापना गर्नुका साथै माछा तथा पशुपन्छीका लागि आवश्यक पोषणयुक्त दाना उत्पादन गर्न दैनिक १० टन क्षमताको आधुनिक पेलेट फिड प्लान्ट स्थापना गर्ने लक्ष्य लिएको जनाएको छ ।
एनआईसी एसिया क्यापिटलले ‘आइडिया टु आईपीओ’ सेवाअन्तर्गत विराट एग्रोलाई प्राइभेट लिमिटेडबाट पब्लिक कम्पनीमा परिणत गर्ने प्रक्रियादेखि सर्वसाधारणका लागि शेयर निष्कासनसम्म आवश्यक परामर्श सेवा प्रदान गर्ने जनाएको छ ।
सम्झौतासम्बन्धी थप जानकारीका लागि एनआईसी एसिया क्यापिटलका प्रमुख मर्चेन्ट बैंकिङ अधिकृत दामोदर रायमाझीलाई सम्पर्क गर्न सकिने जनाइएको छ ।