धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१९ सुमन मार्गमा प्रहरीले ५ ग्रामभन्दा बढी ब्राउन सुगर लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार लागूऔषध बिक्री–वितरण भइरहेको सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालयको पीआईटी विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट संयुक्त रूपमा खटिएको टोलीले ३० वर्षीय मनिष योगीको घरकोठा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा योगीको कोठाबाट ५ ग्राम २७० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ। उनलाई उक्त लागूऔषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान भइरहेको छ।
यसैबीच, इटहरी–१२ खनार चौकबाट पनि प्रहरीले ०.३२ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थसहित २० वर्षीय अजय कुमार चौधरी र ३० वर्षीय सुमित गुरुङलाई पक्राउ गरेको छ।
दुवैलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।