धरान/९० दशकका लोकप्रिय गीत–सङ्गीत र कलाकारका प्रस्तुतिले धरानको भिन्टेज बार एन्ड क्लबमा पुरानो पुस्ताको सांगीतिक सम्झना ताजा बनाएको छ।
सिल्भर इन्टरटेनमेन्टको आयोजनामा असोज १० गते शनिबार भएको ‘नाइन्टिज धरान लाइभ कन्सर्ट’ मा दर्शकहरू चर्चित पुराना गीतमा झुमेका थिए।
धरान–१५ स्थित भिन्टेज बार एन्ड क्लबमा राति ११ः३० बजेसम्म सञ्चालन भएको कार्यक्रममा ९० दशकमा लोकप्रिय गीतहरू कलाकारहरूले प्रत्यक्ष प्रस्तुत गरेका थिए। कार्यक्रममा सहभागी दर्शकहरू कलाकारसँगै गीत गाउँदै र नाच्दै पुरानो सांगीतिक माहोलमा रमाएका थिए।
कार्यक्रममा मिक्स मेलोडी ब्यान्डका सञ्जीव लामाले ‘बिर्सिएका यादहरू’, ‘म सधैँलाई’, ‘घुम्दै आउनू धरान बजार’ र ‘चिपुगुच्चा’ लगायतका चर्चित गीत प्रस्तुत गरे। उनका प्रस्तुतिमा दर्शकले उत्साहपूर्वक साथ दिएका थिए।
त्यस्तै, जेलर्स ब्यान्डका मनोज मोतेले ‘टाढा’, ‘जाने’, ‘हाम्रो जीवन’ र ‘भेडेटार’ लगायतका गीत प्रस्तुत गर्दै ९० दशकको सांगीतिक सम्झना ताजा गराए। रोहित मास्केले ‘दिउँला त्यो जवानी’, ‘मेरी मायालु’, ‘चिसो चिसो’ र ‘मर्छु कि क्या हो’ लगायतका गीत सुनाए।
ओझेल ब्यान्डका दिलु राईले ‘माछी पर्यो’, ‘पूर्णिमाको जुनेली रात’ र ‘उमेरले नौ डाँडा काटेछ’ लगायतका गीत प्रस्तुत गरे। कलाकारका प्रस्तुतिसँगै दर्शकहरू पनि गीत गाउन र नाच्नमा सहभागी भएका थिए।
९० दशकको संगीतसँग प्रत्यक्ष रूपमा जोडिएको पुस्ताको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा पुराना गीतले दर्शकलाई विगतको सांगीतिक यात्रामा फर्काएको आयोजकले जनाएको छ।
कार्यक्रमकै अवसरमा मिक्स मेलोडी ब्यान्डका सञ्जीव लामालाई सांगीतिक योगदानको कदर गर्दै सम्मान गरिएको थियो। सिल्भर इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठ, धरान सङ्गीत प्रतिष्ठानका अध्यक्ष रमेश राई, उपाध्यक्ष हेम सुब्बा, सचिव कृष्णराज श्रेष्ठ, वरिष्ठ सङ्गीतकर्मी रोशन शर्मा तथा कलाकार मनोज मोते, रोहित मास्के र दिलु राईले संयुक्त रूपमा खादा र सम्मानपत्र प्रदान गरेका थिए।