धरान/ श्रम संस्कृति पार्टीभित्र गुटबन्दी बढेको आरोप लगाउँदै धरान उपमहानगरपालिका–४ का अध्यक्ष कान्छा राईले पार्टी परित्याग गरेका छन्।
उनले २०८३ कात्तिक २६ गतेदेखि पार्टी र विधानलाई शिरोपर गर्दै स्वतन्त्र बस्ने घोषणा गरेका हुन्।
राईले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू पार्टीको साधारण सदस्यसमेत नरहने गरी अलग भएको जानकारी दिएका छन्।
पार्टी छाडेको घोषणा गरेसँगै उनले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई लक्षित गर्दै व्यङ्ग्यात्मक टिप्पणीसमेत गरेका छन्।उनले फेसबुकमा लेखेका छन्, ‘माननीय भन्नुहुन्छ पत्रकार पार्टीको हुनुहुँदैन, तर मित्रहरूको विवेक हेर्दा त लाग्छ, मैले राजीनामा दिँदा उसको भागै खोसिएला जस्तो पो गर्छ त, दालमा केही गडबड छ कि?’
उनको उक्त टिप्पणीपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन्।
केही व्यक्तिले कमेन्टमार्फत गालीगलौज गरेपछि राईले अर्को स्टाटस लेख्दै आफूलाई अनावश्यक कमेन्ट नगर्न आग्रह गरेका छन्।
उनले ‘मेरो लागि सारै कमेन्ट नगर्दै राम्रो होला मित्रहरू, लहरा तान्दा पहरा खस्ला, विचार गरौँ’ भन्दै चेतावनीपूर्ण अभिव्यक्ति दिएका छन्।
आफू श्रम गरेर आएको व्यक्ति भएको उल्लेख गर्दै उनले श्रम संस्कृति पार्टीको ‘मासु भात’ खाएर पार्टीमा नआएको पनि बताएका छन्।
गरिबलाई सानोतिनो सहयोग गर्दै श्रममार्फत पार्टीमा जोडिएको उनको भनाइ छ। साथै, आफूविरुद्ध कमेन्ट गर्दा विचार गर्न पनि उनले आग्रह गरेका छन्।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा श्रम संस्कृति पार्टीका वडा तहका जनप्रतिनिधिले नै पार्टी छाडेको घोषणासँगै धरानको राजनीतिक वृत्तमा यसले चर्चा पाएको छ।
पार्टीभित्रको गुटबन्दीबारे राईले लगाएको आरोप र हर्क साम्पाङलाई लक्षित उनको अभिव्यक्तिले थप बहस सिर्जना गरेको छ।