धरान/ धरानमा पहिलो पटक आयोजना हुन लागेको रात्रिकालीन महिला अन्तर्राष्ट्रिय क्लब गोल्डकप फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ।
डी–१९ क्लब धरान–१९ तथा स्वर्णिम फुटबल क्लबको आयोजनामा हुन लागेको ‘प्रथम धरान महिला अन्तर्राष्ट्रिय गोल्डकप–२०८३’ को तयारी पूरा भएको जानकारी दिँदै बिहीबार आयोजित पत्रकार सम्मेलनमा ट्रफी सार्वजनिक गरिएको हो।
ट्रफी सार्वजनिकसँगै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई प्रदान गरिने ईभी स्कुटरको चाबीसमेत हस्तान्तरण गरिएको छ। स्कुटर धरान–१९ निवासी सम्झना खालिङले आफ्ना दिवंगत बुवाको स्मृतिमा प्रायोजन गरेकी हुन्।
त्यसैगरी,नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष पदम ईस्वोले आफ्ना दिवंगत आमाबुवाको स्मृतिमा ट्रफी हस्तान्तरण गरेका हुन्। ट्रफीमा धरानका विभिन्न पहिचान झल्काउने दृश्यहरू समेटिएका ईस्वोले जानकाी दिए।
क्लबका अध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष राईका अनुसार प्रतियोगिता कात्तिक २८ देखि मङ्सिर ६ गतेसम्म धरान रंगशालामा सञ्चालन हुनेछ।
प्रतियोगिताका लागि रंगशालामा अस्थायी फ्लडलाइट जडान गरी खेलहरू रात्रिकालीन रूपमा सञ्चालन गरिनेछ।
धरानमा यसअघि अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप हुँदै आए पनि महिला अन्तर्राष्ट्रिय क्लब फुटबल प्रतियोगिता रात्रिकालीन रूपमा पहिलो पटक आयोजना गर्न लागिएको हो। यसअघि धरानमा गोधुली अन्तर वडा फुटबल प्रतियोगिता एक पटक रात्रिकालीन रूपमा सञ्चालन गरिएको थियो।
क्लबका सचिव उमेश जिमीले महिला फुटबलको व्यावसायिक विकाससँगै स्थानीय खेलाडीलाई अन्तर्राष्ट्रियस्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए।
प्रतियोगितामा भारतको आक्वा फुटबल क्लब झारखण्ड सहित नेपालका विभागीय तथा विभिन्न क्लब गरी आठ टोली सहभागी हुनेछन्।
सहभागी टोलीमा एपीएफ, नेपाली आर्मी,नेपाल पुलिस क्लब,बागमती फुटबल क्लब,उदयपुर फुटबल क्लब,आक्वा फुटबल क्लब झारखण्ड र आयोजक स्वर्णिम फुटबल क्लब धरान रहेका छन्।
आयोजकका अनुसार कात्तिक २८ गते हुने उद्घाटन खेलमा भारतको आक्वा फुटबल क्लब झारखण्ड र विभागीय टोली एपीएफबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा राष्ट्रियस्तरका महिला खेलाडीहरूको सहभागिता रहनेछ।
प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउनेछ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।
त्यस्तै,प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ईभी स्कुटर प्रदान गरिनेछ।
खेल अवधिभर उत्कृष्ट गोलरक्षक, डिफेन्स,मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।