धरान/ धरानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले नगदसहित ११ जनालाई नियन्त्रणमा लिएको छ।
धरान उपमहानगरपालिका–११ स्थित सेवालुङ चोकमा रहेको सन्जुहाङ लिम्बुको घरमा जुवातास खेल भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको हो।
बिहीबार (२०८३ कात्तिक २६ गते) राति करिब ८ बजे इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी हवल्दार हेमराज सुवेदीको कमाण्डमा खटिएको टोलीले घरधनी सन्जुहाङ लिम्बुसहित ११ जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा धरान–१६ का ३३ वर्षीय सोम तामाङ, धरान–११ का २४ वर्षीय सविन राई, ४० वर्षीय दिनेश राई, ४९ वर्षीय सन्जुहाङ लिम्बु, २४ वर्षीय मचिन लिम्बु, ३२ वर्षीय पूर्ण राई, ४१ वर्षीय सन्तोष तामाङ, १७ वर्षीय रविन रसाइली, ४१ वर्षीय सुवास तामाङ, धरान–१९ का ५० वर्षीय ओम राई र ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ का ३५ वर्षीय अशोक साँवा रहेका छन्।
प्रहरीले जुवाको खालबाट ५ लाख ९२ हजार ५०० रुपैयाँ नगद, १२ बुक तास र विभिन्न कम्पनीका १२ थान मोबाइल बरामद गरेको छ।
नियन्त्रणमा लिइएका सबैलाई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।