धरान/सुनसरीको धरान उपमहानगरपालिका–१५ आरालाईनमा मंगलबार बिहान बुलेट मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
श्यामचोकबाट पुरानो बसपार्कतर्फ जाँदै गरेको को ३५ प ४११५ नम्बरको बुलेट मोटरसाइकल बिहान करिब १ः०५ बजे सडक छेउमा रहेको मासु पसलको पर्खालमा ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा करिब ३०–३१ वर्षीय पुरुष गम्भीर घाइते भएका थिए। प्रहरीले उद्धार गरी एम्बुलेन्समार्फत उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
मृतकको साथबाट पहिचान खुल्ने कुनै कागजात फेला नपरेको प्रहरीले जनाएको छ। समाचार तयार पार्दासम्म मृतकको नाम, थर र ठेगाना खुलेको छैन।
प्रारम्भिक अनुसन्धानमा मोटरसाइकल तीव्र गतिका कारण दुर्घटनामा परेको हुनसक्ने प्रहरीको भनाइ छ। दुर्घटनामा परेको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।
मृतकको पहिचान तथा दुर्घटनाको थप विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।