दमक/ जेन्जी आन्दोलनका क्रममा काठमाडौंको केन्द्रीय कारागारबाट भागी फरार भएका जबरजस्ती करणी मुद्दाका एक कैदी झापाको दमकबाट पक्राउ परेका छन्।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–२ हुँसेसाँगुका २७ वर्षीय राजकुमार लिम्बुलाई प्रहरीले दमक नगरपालिका–६ बाट पक्राउ गरेको हो।
लिम्बु जबरजस्ती करणी मुद्दामा काभ्रेपलाञ्चोक जिल्ला अदालतको २०७९ असार २२ गतेको फैसलाअनुसार १८ वर्ष कैद, १ लाख रुपैयाँ क्षतिपूर्ति तथा २ हजार २ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने सजाय भुक्तान गरिरहेका थिए।
उनी २०८२ भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागार, जगन्नाथदेवलबाट भागेर फरार भएका थिए। त्यसपछि दमक नगरपालिका–६ मा लुकिछिपी बस्दै आएको अवस्थामा प्रहरीले फेला पारेको हो।
इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक प्रमोद खड्काको नेतृत्वमा खटिएको टोलीले २०८३ असोज ३ गते साँझ करिब ७ बजे लिम्बुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका लिम्बुलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ।