बराहक्षेत्र/ 'भक्तै समर्पितं द्रव्यं, श्रीमद्भागवत उपरि तत् द्रव्यम् भगवत द्रव्यं सर्वभोग निर्गतिम् व्रजेत ।'
अर्थात् भक्तजनहरूले भागवतमा चढाएको द्रव्य भगवानकै हुन्छ, त्यसको दुरुपयोग गर्नेले दुर्गति भोग्नुपर्छ— वृन्दावन अध्ययन गर्दाताका मनमा गढेको यही श्लोकले योगेश भण्डारीको जीवनदृष्टि नै बदलिदियो।
वृन्दावनबाट संस्कृत साहित्यमा आचार्य (एमए) गरेका भण्डारी १८ पुराणका व्याख्याता हुन्। उनी पुराणहरूको वैज्ञानिक र आधुनिक व्याख्याबाट चिनिने युवा धर्मगुरु हुन्। पण्डित भण्डारीले हालसम्म भागवत, देवी भागवत, गणेश पुराण, शिव पुराणलगायत १२ पुराणको नेपाली सारसहितका पुस्तक प्रकाशन गरिसकेका छन्।
परोपकार र धर्मसेवामा समर्पित भण्डारीले पुराण वाचनबाट संकलन भएको दान–दक्षिणाबाट दर्जनौं सामाजिक संरचना निर्माण गरेका छन्। वराहक्षेत्रमा सेवा आश्रम, प्रवचन हल, वराहकुण्ड, विराटनगरमा पुस्तकालय, धरानमा पुल, बाटो, अक्षयकोष लगायतका काम उनीकै पहलमा सम्पन्न भएका छन्।
गुप्त वराह गुफाको जीर्णोद्धारमा जुटे
पछिल्लो तीन वर्षदेखि पण्डित भण्डारी गुप्त वराह गुफाको संरक्षण र पुनर्निर्माणमा लागिपरेका छन्। पुराण वाचनमार्फत संकलित १ करोड ५० लाख रुपैयाँ खर्च भइसकेको भण्डारी बताउँछन्। उनले व्यक्तिगत सहयोग र दातव्यद्वारा स्रोत जुटाएका हुन्।
धार्मिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिने गुप्त वराहस्थलको कथा प्राचीन कालदेखि प्रचलित छ। जनश्रुति अनुसार, औलिया बाबा भगवान वराहका सेवक थिए र उनैलाई दर्शन दिन गुफामै भगवान वराह प्रकट भएका थिए। त्यसपछि यो गुफा ‘गुप्त वराह’ भनेर चिनिन थाल्यो।
भण्डारीको सक्रियतामा गुफा परिसरको मन्दिर, सत्तल, पाटीपौवाको संरक्षण भइरहेको छ। प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
आगामी मङ्सिर १० मा उद्घाटनको तयारी
२०७९ मङ्सिर १० मा शिलान्यास भएको गुफा जीर्णोद्धारको कार्य आगामी मङ्सिर १० गतेसम्ममा भक्तजन पुग्न मिल्ने बनाउने लक्ष्यसहित अघि बढाइएको छ। भण्डारीले उद्घाटनपछिको एक हप्ता भित्रै व्यवस्थापन समितिलाई हस्तान्तरण गर्ने योजना बनाएका छन्।
‘मेरो काम आध्यात्मिक स्थललाई उजागर गर्ने हो, थप विकास सरकारले गर्नुपर्छ,’ भण्डारी भन्छन्। कोशी प्रदेश सरकारले समेत सकारात्मक भूमिका निर्वाह गरिरहेको भन्दै उनले धार्मिक पर्यटन प्रवर्द्धनमा गुप्त वराह स्थलले ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे।
चतराधामदेखि वराहक्षेत्र पुग्ने बाटोमा पर्ने गुप्त वराहस्थलसम्म सडक सञ्जाल, सिँढी र बाटो निर्माण भइरहेको छ। वराहक्षेत्रलाई धार्मिक पर्यटनको केन्द्र बनाउन उनले मोनो रेलको परिकल्पना पनि गरेका छन्।
‘अब भक्तजनले गुफामै पुगेर दर्शन गर्न सक्ने अवस्था बनिसकेको छ,’ भण्डारी भन्छन्, ‘यो कामका लागि सबैको साथ–सहयोग आवश्यक छ।’