काठमाडौं/आज देशभर अक्षय तृतीया पर्व श्रद्धा र भक्तिसाथ मनाइँदैछ। वैशाख शुक्ल पक्षको तृतीया तिथिका दिन पर्ने यस पर्वलाई हिन्दू धर्मावलम्बीले विशेष महत्वका साथ मनाउने गरेका छन्।
धार्मिक विश्वास अनुसार आजको दिन गरिएको स्नान, जप, तप, दान–पुण्य आदि कर्मको फल 'अक्षय' अर्थात् कहिल्यै नाश नहुने मानिन्छ। यही कारणले आज व्रत बस्ने, सातु, जल, फल तथा अन्न दान गर्ने चलन रहेको छ।
शास्त्र अनुसार आजको दिन त्रेता युगको प्रारम्भ भएको, भगवान् विष्णुको छैटौं अवतार परशुरामको जन्म भएको, र शिव–पार्वतीको विवाह भएको विश्वास गरिन्छ। देशभरका मठमन्दिर, तीर्थस्थल र घरघरमा विशेष पूजा–अर्चना गरी पर्व मनाइँदैछ।
विशेषगरी तराई–मधेसका मिथिला क्षेत्रमा ब्राह्मण र साधुलाई सातु, सक्खर र जल दान गर्ने चलन छ। त्यहाँका बटुवाहरू सडक छेउमा बसेर सर्वसाधारणलाई सर्वत खुवाउने दृश्य सामान्य देखिन्छ।
गर्मी याममा स्वास्थ्यका दृष्टिले पनि जौँको सातु र सक्खर मिसाइएको पेय लाभदायक मानिन्छ। धार्मिक, सामाजिक र स्वास्थ्य सन्देश बोकेको यस पर्वले मानिसहरूमा परोपकार र दानको भावना समेत बढाउने विश्वास गरिएको छ।