नवराज विष्ट
चतरा ।कोसी नदीको कटान रोक्न बराहक्षेत्र–२ स्थित पुल्ठेगौंडामा २५ सय कन्क्रिट टेट्रापोड्स लगाइँदैछ । कोसी प्रोजेक्टअन्तर्गत बिहार जल संशाधन विभागले बर्खामा हुने क्षति रोक्न टेट्रापोड्स लगाउन थालेको हो ।
४ टन बराबरको एउटा टेट्रापोड्स यो पटक २ हजार ५ सय वटा लगाइने इन्जिनियर अशोककुमार मण्डललाई उद्धृत गर्दै स्थानीय प्रतिनिधि सुमन पौडेलले जानकारी दिए ।विशेष गरी समुद्रमा देखिने यस्ता टेट्रापोड्स नेपालमा कोसी नदीमा पहिलो पटक लगाइँदैछ । ३८ वटा फर्माबाट निर्माणको काम थालिएको प्रतिनिधि पौडेलले बताए ।
पुल्ठेगौंडास्थित १२ नम्बर स्परमा टेट्रापोड्स लगाइँदैछ । जसका लागि ५८ हजार बोरा सिमेन्ट लाग्ने र काम सक्न तीन महिना समय लाग्ने बताइएको छ ।स्थानीय नागरिकको साढे ३० कट्ठा जग्गा तीन महिनासम्मका लागि प्रति कट्ठा २० हजार रुपैयाँमा लिजमा लिएर काम सुरु गरिएको हो ।
यस अघि नारायणी नदीमा ४ हजार यस्ता टेट्रापोड्स पिल्लर राखिएको थियो । हाल चतरादेखि राजाबाससम्म कोसी नदी तटबन्धनको काम हुँदैछ । बर्खामा कोसी नदीको कटानको जोखिम रहेको यो क्षेत्रमा तारजालीको तटबन्ध निर्माण हुँदै आएको थियो ।
कोसी नदीमा पहिलो पटक टेट्रापोर्टको काम भइरहेको स्थानीय सन्जीव कट्वालले जानकारी दिए ।