इलाम/ कहिले गुन्द्रक, सिस्नु,करेला ब्रान्डिङ त कहिले तीतेपाती खेतीमा किसानलाई उक्साइरहेको रोङ गाउँपालिकाले ‘रोङ गुरु किसान’ कार्यक्रम घोषणा गरेको छ ।
कृषकलाई प्रतिस्पर्धी बनाउने गरि ‘गुरु किषान’ कार्यक्रम घोषणा गरेको हो ।
गाउँपालिकाले किसानलाई मालिक बनाउने उदेश्यले बिहिबार रोङ गाउपालिकाको इरौटारमा एक कार्यक्रम गरी गुरु किसान’ घोषणा र कृषि प्रशोधन उद्योग उद्घाटन गरेको हो ।
रोङ गाउपालिका ५ को इरौटारमा भएको कार्यक्रममा कृषि तथा पशुपन्क्षीमन्त्री रामनाथ अधिकारी, रोङका अध्यक्ष मनिकुमार स्याङ्वो सुवास, उपाध्यक्ष विश्नुमाया भुजेलले गुरु किसान घोषणा र उद्योग उद्घाटन गरेका हुन ।
घोषणा कार्यक्रममा किसानलाइ सम्मान समेत गरिएको थियो । कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले रोङ गाउँपालिकाले देशभर भईरहेका कार्यक्रम भन्दा फरक किसिमको कार्यक्रम गरेको बताए ।
उनले कृषि क्षेत्रको विकासका लागि किसानलाइ लक्षित गरि अहिलेसम्मकै फरक कार्यक्रम गरेको बताएका हुन ।
उनले स्थानीय उत्पादनलाइ स्थानीय तहमानै उद्योग सञ्चालन गरि ब्न्डिङ गरेर विश्व बजारमा पुर्याउने गरि कामको थालनि गरेकोमा खुसि हुँदै स्थानीय तहले स्थानीय उत्पादनलाइ व्यवसायीक बनाउने हो भने देशको अर्थतन्त्रमा समेत टेवा पुग्ने बताए ।
कृषि भूमिको अवैज्ञानिक प्रयोग, निर्वाहमुखी कृषि प्रणाली र गैरकृषि क्षेत्रको तुलनामा कृषि क्षेत्रको न्यून आम्दानीको कारण कृषि क्षेत्र आकर्षक र सम्मानित हुन सकेको छैन हामी यो कार्यक्रममार्फत वास्तविक किसानको अवस्था परिवर्तनको प्रयासमा लागेको रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बो सुवासले बताए ।
रोङ गाउँपालिकाको भौगोलिक परिवेश, प्राकृतिक स्रोत एवं बजारको पहुँचले उपलब्ध गराएको अवसर र किसानहरूको अन्तर्निहित क्षमतालाई विकास गर्दै आधनिक कृषि प्रविधिहरूको उपयोगगरी व्यावसायिक कृषिको माध्यमबाट दिगो आर्थिक वृद्धि तथा खाद्य सुरक्षाका लागि नेपालमै पहिलो पटक गुरु किसान योजना अघि सारेको पालिकाले जनाएको छ ।
रोङ गाउँपालिकाभित्र रहेका कृषकहरूमध्येबाट नै उत्कृष्ट ज्ञान, सीप, दक्षता नेतृत्व हासिल गरेका ‘गुरु किसान’ तयार गर्न कार्यविधि निर्माण गरेको अध्यक्ष स्याङ्बोले बताए ।लाखौं युवा कृषि पेसाबाट विदेश पलायन हुने अवस्थामा परिवर्तन ल्याउनसमेत यो कार्यक्रम अघि सारेको उनको भनाइ छ ।
उनले कृषि क्षेत्रलाई उत्पादन, आम्दानी र रोजगारको लागि प्रतिस्पर्धी र व्यावसायिक कृषक बनाउने अभियानमा गाउँपालिका लागेको बताए ।
देशमै पहिलो र नमुनाको रुपमा रहेको यो कार्यक्रममा संघीय सरकाले १५ लाख सहकार्य गरेको छ भने बाँकी सबै खर्च गाउँ पालिकाले बेहोर्ने छ ।
गुरु किसान हुन योग्य किसानको छनोट गरेपछि कृषि सामग्री, तालिम, कृषि उपकरणलगायतको क्षत्रमा सहजीकरण गर्ने अध्यक्ष स्याङ्बोले बताए । उनले भने ‘गुरु किसान योग्य र उदाहरणीय भए पछि अरू कृषकहरूलाई आफ्नो योग्यता, क्षमता र अनुभवबाट उदाहरणीय बनाउन सहयोग गर्नेछन् ।’
कार्यक्रमले गुरु किसानहरूको नेतृत्वमा अन्य कृषकहरूमा खाद्यबाली, तरकारी, उच्च मूल्य बालीलगायत पशुपालनको क्षेत्रमा व्यावसायिक क्षमता विकास गर्ने लक्ष्य राखेको छ । कार्यक्रमले गुरु किसानलाई व्यावहारिक र अनुभवले खारिएको अघोषित प्राविधिकको रूपमा विकास गर्ने लक्ष्यसमेत राखेको छ ।
‘सुरुमा करिब तीन सय जना ‘गुरु किसान’ पहिचान गर्ने तयारी छ,’ गाउँपालिका अध्यक्ष स्याङ्बोले भने, ‘किसानको उत्पादन, परिमाण, गुणस्तर र निरन्तर उत्पादनजस्ता कुरामा एकरूपता ल्याउन गुरु किसान कार्यविधिलाई कार्यपालिकाले स्वीकृत गरेको छ ।’
उनीहरूलाई ‘लोगो’ र परिचयपत्र वितरण गरिने गाउँपालिकाले जनाएको छ । उनले भने, ‘गुरु किसानलाई पालिकको हरेक कार्यक्रमममा आशनग्रहण हुन्छ, सम्मान हुन्छ ।’ गाउँपालिकाले गुरु किसानमार्फत उत्पादकत्वमा प्रतिस्पर्धा गराउन खोजेको छ ।
रोङ गाउँपालिकाको कुल १५६ दशमलव ०२ वर्ग किलोमिटर क्षेत्रमध्ये ४९ दशमलव ६२ वर्गकिलोमिटर जमिनखेती योग्य रहेको छ । पालिकाको तथ्यांकअनुसार पालिकाभरिमा अलैंची २० मेट्रिकटन, धान ३५० मेट्रिकटन, मकै १५० मेट्रिकटन, सुन्तला १६० मेट्रिकटन, सुपारी ३५ मेट्रिकटन, अदुवा १५ मेट्रिकटन, केरा १०० मेट्रिकटन, आलु १८० मेट्रिकटन र स्कुस ५०० मेट्रिकटन उत्पादन हुने गरेको छ ।
यसबाहेक तोरी, बेसार, सिस्नु, खुर्सानी, च्याउ, कुरिलो, मुला, काँक्रो, टमाटर, तीतेकरेला, कुरिलोलगायतका बाली किसानले लगाउने गरेको पालिकाको कृषि शाखाले जनाएको छ ।
गुन्द्रुक र करेलाको ब्रान्डिङ
देशमै पहिलो पटक घर घरबाट उत्पादन हुने सागबाट गुन्द्रुक उत्पादनमा सफल रोङ अहिले चाहिँ किसानलाई नै गुरु बनाउने अभियानमा जुटेको हो ।
गुन्द्रुकको ठूलो बजार समात्न उसले गरेको प्रयासमा एकपछि अर्को सफलता मिलिरहेको गाउँपालिकाको दाबी छ । गाउँपालिकाले सागको न्यूनतम समर्थन मूल्य प्रतिकेजी १० रुपैयाँ निर्धारण गरेको छ ।
साग गाउँपालिकाको फ्याक्ट्रीलाई दिने किसानले सागमा प्रतिकेजी ६ रुपैयाँ अनुदान पनि पाउने व्यवस्था गाउँपालिकाले गरेको छ । त्यस्तै गुन्द्रुकमा प्रतिकेजी ८० रुपैयाँ अनुदानको व्यवस्था छ । त्यो पनि अन्ततः किसानकै भागमा पर्ने गाउँपालिकाको भनाइ छ ।
गाउँपालिकाले करेलालाई सुकाएर सुकुटीका रूपमा प्रशोधन गरी बिक्री सुरु गरेको हो । तितेकरेलालाई गुन्द्रुकसँग मोलेर अचारका रूपमा पनि खान सकिन्छ ।
प्याकेजिङ भएको तितेकरेलालाई तातोपानीमा पाँच–१० मिनेट भिजाएर पुरानै स्वरूप तथा स्वादमा विभिन्न तरिकाले पकाएर खान सकिने किसान बताउँछन् ।
गाउँपालिकाले यसअघि रोङमा गुन्द्रुक, सिस्नो, बेसार, मह, चिया, कुचोलगायत कृषिजन्य वस्तुको ब्रान्डिङ गरी बजारीकरण गरिरहेको गाउँपालिका उपाध्यक्ष विष्णुमाया भुजेल बताउँछिन् ।
रोङको गुन्द्रुक र महको माग बजारमा बढी भएकाले माग अनुसार आपूर्ति गर्न कठिन भइरहेको उनको भनाइ छ ।
यसैवीच गाउँपालिकाले मौरी विकास केन्द्र नै स्थापना गरेर मौरीपालनको विकासमा लागेको छ ।
मौरीले वातावरण जोगाउनका लागि राम्रो भूमिका निर्वाह गर्ने भएकाले पनि मौरी जोगाउनुपर्ने बताइएको छ ।