बितेको एक वर्षमा वैदेशिक रोजगारीमा गएका १३ सयजनाभन्दा बढी नेपाली श्रमिकले ज्यान गुमाएका छन् ।
वैदेशिक रोजगार बोर्डले आर्थिक वर्ष ०८०/०८१ मा वैदेशिक रोजगारमा गएका १ हजार ३४६ नेपाली श्रमिकले ज्यान गुमाएको जनाएको छ । यो सङ्ख्या अझै बढ्न सक्छ किनभने यो तथ्याङ्क स्वीकृति लिएर गएका श्रमिकहरूको मात्रै हो ।
स्वीकृति नलिई गैरकानुनी बाटोबाट कति श्रमिक वैदेशिक रोजगारमा गए र तीमध्ये कतिजनाको मृत्यु भयो भन्ने तथ्याङ्क कतै उपलब्ध छैन । बोर्डले जनाएअनुसार आर्थिक वर्ष ०८०/०८१ मा सबैभन्दा धेरै विभिन्न रोगका कारण श्रमिकको ज्यान गएको छ ।
वैदेशिक रोजगारमा रहँदा ज्यान गुमाउने नागरिकहरूको यो तथ्याङ्कले जुनसुकै नेपालीलाई पनि चिन्तित बनाउँछ । यो सङ्ख्या सानो होइन । आफु र आफ्नो परिवारको सुन्दर भविष्यको सपना देखेर विदेशी भूमिमा पसिना र रगत बगाउन गएका नागरिकहरूले ‘काठको बाकस’ मा स्वदेश फर्कनुपर्ने अवस्था कुनै पनि अर्थमा स्वाभाविक हुन सक्दैन ।
परिवारको सुन्दर भविष्य निर्माणका लागि विदेशी भूमिमा गएको परिवारको सदस्य निर्जीव अवस्थामा फर्किँदा आफन्तको अवस्था कस्तो होला ? कल्पना मात्र गर्दा पनि जो कसैलाई कहाली लाग्छ ।
विदेशी भूमिमा कतिपयले हृदयाघातका कारण ज्यान गुमाएका छन् भने कतिपयले आत्महत्या गरेका छन् । के यो सामान्य अवस्था हो ? अवश्य पनि होइन । कामको अत्यधिक चाप, आरामको अभाव, परिवारसँग टाढा हुनु पर्दाको तनाव, आर्थिक सङ्कटजस्ता अनेक कारणले उनीहरू आत्महत्याजस्तो दुःखद् बाटो रोज्न पुग्छन् ।
कतिपयको मृत्युलाई प्राकृतिक भनिए पनि वास्तविक कारणबारे खासै खोजी भएको हुँदैन । कतिपयले कार्यस्थल दुर्घटनामा ज्यान गुमाएका छन् । यसबाट कार्यस्थलको सुरक्षामा पर्याप्त सावधानी नअपनाइएके देखिन्छ ।
वैदेशिक रोजगारीमा गएका नागरिकले ज्यान गुमाएको घटना नयाँ भने होइन तर श्रमिकले परदेशमा ज्यान गुमाउनु परिरहेको अवस्थामा अभैm परिवर्तन नआएको भने प्रस्ट हुन्छ । परदेशमा दैनिक चारजनाले ज्यान गुमाउने गरेको देखिन्छ । ज्यान गुमाउनेमा अधिकांश अदक्ष श्रमिक रहेको देखिन्छ ।
त्यसैले वैदेशिक रोजगारीमा जानुअघि श्रमिकहरूलाई दक्षता अर्थात् कुनै सिप प्राप्त गर्न सरकारले प्रोत्साहन गर्नुपर्छ । यसका लागि सरकारले विशेष कार्यक्रम र योजना ल्याउनु आवश्यक छ ।
यस्ता योजना र कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा पनि जोड दिनुपर्छ । उनीहरूलाई व्यावसायिक सिप सिकाएर मात्र विदेश पठाउने व्यवस्था मिलाउनुपर्छ ।
दक्ष श्रमिक पठाउन नथालेसम्म मृत्युदरमा कमी नआउने श्रमविज्ञको भनाइलाई सरकारले बेवास्ता गर्नु हुँदैन । स्वदेशमा सहज रूपमा जीवन बिताउने अवसर प्राप्त गर्न नसकेका श्रमिकहरूले आफ्नो माटोमा मर्न पनि नपाउने अवस्था साँच्चै नै निकै दुःखदायी छ । विदेशमा ज्यान गुमाउँदा श्रम स्वीकृति लिएर गएका श्रमिकका परिवारले मात्र क्षतिपूर्ति पाउँछन् ।
स्वीकृति नलिई जानेहरूका परिवारले क्षतिपूर्ति पनि पाउँदैनन् । परदेशमा श्रमिकले अकालमै जीवन गुमाउनुपर्ने अवस्थामा परिवर्तन ल्याउनैपर्छ । यो विडम्बनापूर्ण अवस्थाको अन्त्य गर्न सरकार गम्भीर हुनुपर्छ ।
यसका लागि पहिले त स्वदेशमै रोजगारका पर्याप्त अवसर सिर्जना गर्न पहिल गर्नुपर्छ । त्यसपछि श्रम गन्तव्य मुलुकमा हुन सक्ने सम्भावित जोखिम र दुर्घटनाबारे पहिले नै श्रमिकलाई सचेतना दिनुपर्छ ।
कार्यस्थलमा पालना गर्नुपर्ने सुरक्षाका मापदण्ड, सम्बन्धित देशको ट्राफिक नियम, भाषा तथा नियम–कानुनहरु सबै बुझाएर मात्र पठाउने व्यवस्था मिलाउनुपर्छ ।