धरान । जिल्ला प्रहरी कार्यालय सुनसरीले सन्चारकर्मी धमलालाई आक्रमण गर्नेलाई सार्वजनिक गरेको छ । प्रहरीले इनरुवामा नै धमलालाई आक्रमण गर्नेहरुलाई सार्वजनिक गरेको हो । प्रहरीका अनुशार धरान–१५ की ४२ वर्षीय चन्द्रकला थेवे, धरान–१९ की ३४ वर्षीय मुना राई, धरान–१७ की ५६ वर्षीय प्रमीला राई, धरान–११ की ४५ वर्षीय शर्मिला राई, धरान–१ की ५२ वर्षीय शर्किनी थापा मगर, धरान–१७ की ४० वर्षीय पूर्ण बान्तवा राई र ३५ वर्षीय सिर्जना बेघालाई सार्वजनिक गरेको छ ।
पक्राउ परेकाहरुलाई अभद्र व्यवहार संवन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय सुनसरीबाट म्याद थप अनुमति लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नवीनकृष्ण भण्डारीले बताएका छन् ।
बुधबार वीपी प्रतिष्ठनमा उपचार गर्न गएको बेला महिलाहरुको समूहले आफुलाई आक्रमण भएको थियो । धमला एक्स रे कक्षमा लुकेर आक्रमण हुनबाट आफु बँचेको वताएकी छिन ।
यसअघि सार्वजनिक सुनुवाईमा दिएको विवादित अभिव्यक्ति, मेयर साम्पाङको कार्यकक्षमा अमर्यादितशैलीमा भनाभन, सामाजिक सञ्जालमा आरोप प्रत्यारोपपछि मेयरका समर्थकहरुबाट धमलाको चर्को आलोचना र धाकधम्की पनि आइरहेको थियो ।
धमलाले आफु असुरक्षित भएको भन्दै शान्ति सुरक्षाको माग गर्दै जिल्लामा निवेदन दिएकी थिइन् । यसैबीच हिजो साँझ प्रतिष्ठान हाताबाट ५ जना महिलाहरुलाई पक्राउ गरेपछि मेयर साम्पाङका समर्थकहरु इलाका प्रहरी कार्यालय धरान पुगेका थिए । उनीहरुले धमलाविरुद्ध निवेदन दिएको लामो समय बितिसक्दा पनि प्रहरीले वेवास्ता गरेको, उल्टै महिलाहरुलाई पक्राउ गरेको भन्दै नाराबाजी पनि गरेर चक्काजाम गरेका थिए ।