धरान/ अबिरल बर्षासँगै आएको बाढी, पहिरो, चट्याङ जस्ता मनसुनजन्य विपद्ले देशभर जोखिम बढेको छ ।
नेपाल सरकारको गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार हाल सम्म ६२ जनाको मृत्यु,चार जना बेपत्ता र ९० जना घाइते भएको जनाएको छ ।
केन्द्रका अनुसार यस अवधिमा बाढीका कारण मोरङमा एक, दाङमा तीन, कैलालीमा एक, काभ्रेपलाञ्चोकमा दुई, उदयपुरमा एक, पाल्पामा एकगरी नौ जनाको मृत्यु भएको छ । बाढीकै कारण दुई जना बेपत्ता छन् । पाँच घरमा पूर्ण रुपमा क्षति पुगेको छ ।
११ घरमा आंशिक क्षति भएको छ । पहिराका कारण ३४ जनाले ज्यान गुमाएका छन् । पहिराले दुई जना बेपत्ता र ३८ जना घाइते भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । पहिराले ४३ घर पूर्ण रुपमा क्षति भएको छ ।
२४ घरमा आंशिक क्षति पुगेको छ । १९ वटा गोठमा क्षति भएको छ भने १२ जना घाइते भएका छन् । ११ घर पूर्ण रुपमा र छ घर आंशिक रुपमा क्षतिग्रस्त छन् ।
बाढी र पहिराले हालसम्म आठ करोड छ लाख बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ । चट्याङ्बाट १९ जनाको मृत्यु र ३५ जना घाइते भएका छन् । “बाढी, पहिरो, डुबान, चट्याङजस्ता मनसुनजन्य घटना अझै बढ्दो क्रममा छ, क्षति न्यूनीकरणका लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरेर अगाडि बढिरहेका छौँ”, प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले भने , “यस वर्ष सरदरभन्दा बढी पानी पर्ने र १८ लाख मानिस प्रभावित हुने आँकलन गरिएको छ, तसर्थ सतर्कता अपनाउन जरुरी छ ।”
भट्टराईले भने अनुसार यस वर्षको मनसुन अवधिमा चार लाख १२ हजार घरधुरी मनसुनजन्य विपद्मा पर्ने आँकलन गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागका प्रवक्ता सुनील पोखरेलले सोमबारदेखि मुलुकभर बाढीको जोखिम कम हुने जानकारी दिए ।
गृह मन्त्रालयको नेपाल विपद् जोखिम न्यूनीकरण पोर्टलअनुसार एक सातामा मुलुकको एक सय १० स्थानमा पहिरो गएको छ । बाढी जस्तै पहिराको पूर्वसुचनालाई प्रभावकारी बनाउन आवश्यक रहेको भू–गर्भविद् डा सुवोध ढकालले बताए ।
सप्तकोशीको सबै ढोका खुल्ला ,सचेत रहन आग्रह
इनरुवा। केही दिन यता अविरल बर्षाले पानीको बहाब बढेर खतरा भएपछि सप्तकोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ ।
शनिबार बिहान९ बजे सप्तकोशीमा जलसतहले खतराको तह पार गरेपछि ५६ वटै ढोका खोलिएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादवले जानकारी दिए ।
सप्तकोशीमा पानीको बहाव ३ लाख७० हजार क्यूसेक पुगेको छ । बिहान ६ बजे ४६ वटा ढोका खोलिएको थियो । लगातार वर्षाका कारण नदीमा जलसतह बढ्दै गएर खतरा उत्पन्न भएपछि सबै ढोका खोलिएको हो ।
सप्तकोशीमा बहाव बढेपछि तटीय क्षेत्रमा बसेकाहरूलाई सतर्क रहन भनिएको छ ।
सप्तकोशीमा गतवर्ष पानीको बहाव ४ लाख ४० हजार क्यूसेक पुगेर ३४ वर्षयताकै उच्चतहमा पुगेको थियो ।
यसअघि विस १९८९ मा सप्तकोशीको बहाव ४ लाख७२ हजार क्यूसेक पुगेको थियो । त्यसभन्दा अगाडि १९६८ मा७लाख ३० हजार क्युसेक पुगेको थियो ।