विराटनगर/ तत्कालिन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि खाली भएको कोशी प्रदेशसभाको सभामुख राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद अम्बरबहादुर विष्ट बन्ने करिब निश्चित भएको छ ।
सत्ता गठबन्धनमा रहेका दलले राप्रपालाई सभामुख पद लिन प्रस्ताव गरेकोमा राप्रपाले विष्टलाई अगाडि सारेको हो ।
यद्यपी त्यसको औपचारिक निर्णय गर्न भने बाँकी रहेको राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले जानकारी दिए ।
तत्कालिन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि १६ साउनयता कोशी प्रदेश सभामुखविहीन छ । रिक्त रहेको सभामुखको निर्वाचन अगाडि बढाउने तयारीमा दलहरु छन् । यद्यपी निर्वाचनको मिति तय भइसकेको छैन ।
बुधबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुखको निर्वाचनबारे छलफल भएको थियो ।
छलफलमा सभामुखको जिम्मेवारीमा रहेकी उपसभामुख सिर्जना दनुवारले सभामुखको निर्वाचनको लागि सहमतिको पहल गर्न मुख्यमन्त्रीलाई आग्रह गर्ने बताएको नेकपा एमालेको प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।
मुख्यमन्त्रीले दलहरुसँग एक चरण छलफल गरेपछि निर्वाचनको मिति तय गर्ने सहमति कार्यव्यवस्थामा भएको उनको भनाइ छ ।
राजनीतिक समीकरणमा तत्कालै कुनै नाटकीय फेरबदल नआए अबको एक सातामा झापाको गौरादहका ७० वर्षीय विष्ट कोशीको सभामुख हुनेछन् । गौरादहा ७ ग्वालाडुव्वा घर भएका विष्ट झापा जिल्ला पञ्चायतका सदस्य भएका थिए ।
पञ्चायाती व्यवस्थाका बेलादेखि नै राजनीतिमा सक्रिय विष्ट उनी प्रदेशसभामा समानुपातिकतर्फका सांसद हुन् ।
सत्ता गठबन्धन दलका नेताले यसअघि केन्द्रमा भएको सहमति अनुसार राप्रपालाई सभामुख लिन अफर गरेको हो । गठबन्धनले राप्रपा नेता सिटौलालाई नै सभामुख बन्न भनेको भएपनि उनले बिष्टको नाम अगाडि सारेका हुन् । सभामुखमा बिष्टलाई अगाडि सार्ने सिटौलाले जानकारी दिए ।
राप्रपा र सत्ता गठबन्धन दलले विष्टलाई सर्वसम्मत सभामुख बनाउन चाहेका छन् । त्यसका लागि एमालेसँग छलफल गर्ने तयारीमा गठबन्धन र राप्रपा छ । राप्रपाले सकेसम्म सहमतिकै आधारमा सभामुख चयन होस् भन्ने चाहेको छ ।
गठबन्धनले भने सहमति नभए निर्वाचनबाट सभामुख चयन गरिने भन्दै तयारी गर्न राप्रपालाई भनिसकेको नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए ।
नेकपा एमालेले उपसभामुख सृजना दनुवारलाई नै सभामुख बनाउन खोजेको भएपनि गठबन्धन दलले राप्रपालाई सभामुख बनाउन चाहेको छ । एमालेले राप्रपालाई उपसभामुख लिएर आफूहरुलाई सभामुख दिन प्रस्ताव गरेको राप्रपाले त्यसलाई अस्वीकार गरिसकेको छ । राप्रपा पनि एमालेलाई सभामुख स्वीकार गर्ने पक्षमा नउभिएपछि एमालेले राप्रपाको उम्मेदवारप्रति लचक हुने संकेत गरेको छ ।
एमालेका सचेतक भण्डारीले आफ्नो पार्टीले के गर्ने भन्ने तय नभएको बताउँदै छलफलपछि निर्णयमा पुग्ने बताए । राप्रपालाई स्वीकार गर्ने कि नगर्ने भन्ने विषय छलफलपछि निर्णयमा पुग्ने उनको भनाइ छ ।
राप्रपा नेता सिटौलाले एमालेसँग पनि सल्लाह गरेर सभामुख सर्वसम्मत बनाउने प्रयास गरिने बताएका छन् । गठबन्धनको सहयोगमा सभामुख लिन तयार भएको राप्रपा तत्काल सरकारमा भने नजाने उनले जानकारी दिए ।
विपक्षीले सभामुख लिने अन्तराष्ट्रिय अभ्यास रहेको भन्दै उनले एमालेसँग उपसभामुख रहेकोले सभामुख राप्रपाले पाउनु स्वभाविक रहेको बताएका छन् ।
राप्रपा नेता विष्टले पनि आफू सभामुख बन्ने संभावना देखिएको स्वीकार गरेका छन् ।
‘परिस्थिति त्यस्तै देखिँदैछ’, उनले भने, ‘अवसर आए प्रदेशसभाको नेतृत्व गर्न तयार भएर बसेको छु ।’ कोशीको ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक छ । वर्तमान सत्ता गठबन्धनसँग जम्मा ४७ सांसद छन् ।
राप्रपाका ६ सांसद थपिँदा ५३ पुग्ने भएकोले सभामुखको निर्वाचन नै भएमा पनि राप्रपाका उम्मेदवार जित्ने निश्चित छ ।
गठबन्धनसँग ठिक्क बहुमत मात्र रहेकोले सभामुख राप्रपालाई दिएर बहुमत कायम राख्न चाहेको हो ।
गठबन्धनमा रहेका दलहरु कांग्रेसको २९, माओवादी केन्द्रको १३, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद छन् । प्रतिपक्षमा रहेको नेकपा एमालेको ४० र राप्रपाको ६ सांसद छन् ।
एमालेबाट उपसभामुख रहेकी सिर्जना दनुवारले एमालेको इशारामा काम गरेको भन्दै गठबन्धनले एमालेलाई सभामुख दिन नचाहेको हो । ‘केन्द्रमा भएको सहमति बमोजिम नै हामीले सभामुखमा राप्रपालाई साथ दिन लागेका हौं’, पूर्वमुख्यमन्त्री एवम् एकीकृत समाजवादीका नेता राजेन्द्र राईले भने ‘राप्रपाले पनि गठबन्धनलाई सहयोग गर्नेछ ।’