धरान/ धरानको समग्र विकास निर्माणका काममा राष्ट्रिय योजना आयोगले चासो देखाएको छ ।
विशेष गरी आयोगले धरान उपमहानगरपालिकाभित्रका गौरवका योजना बसपार्क, खानेपानी, सभागृह निर्माण लगायतका विषयमा भएका कामका प्रगतिका विषयमा चासो देखाएको हो ।
धरानभित्रका गौरव आयोजना तथा अनिवार्य गर्नुपर्ने नगरको योजना धरानको बसपार्क र दीर्घकालीन खानेपानी समस्या समाधान हो ।
धरानको भानुचौकामा रहेको बसपार्क साँघुरो बसपार्कलाई व्यवस्थित गर्दै धरान ८ तीनकुने सुन्दरबस्तीमा स्मार्ट बसपार्क निर्माण समेत भएको छ ।
निर्माण कम्पनी गीताञ्जली जेभीलाई २३ करोड १५ लाखमा ठेक्का सम्झौता भएको दुई बर्ष वितिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन ।
भने एसियाली विकास बैंकबाटको ऋण सहयोगमा सम्पन्न खानेपानी आयोजनाले समेत दीर्घकालीन खानेपानी समस्या समाधान र धरान ८ मा भएको सभागृह निर्माणका विषय लगायत विविध योजनाका विषयमा राष्ट्रिय योजना आयोगले सो बारे आवश्यक जानकारी लिएको हो ।
स्मार्ट बसपार्कको पुराना कामलाई सम्पन्न गरेर नयाँ योजना ल्याउने विषयमा छलफल उठेको आयोगले जनाएको छ ।
तीनतह सरकारको समन्वय र सहकार्यको कमी भएका कारण विकास निर्माणका कामहरु चाडै सम्पन्न नभएको देखिएको आयोगका सचिव जयकान्त राउतले जानकारी दिए ।
धरानमा भएका विकासका कामहरु र आगामी दिनमा धरानमा कस्ता परियोजनाहरु ल्याउदा उपयुक्त हुन्छ भन्ने विषयमा समेत धरान उपमहानगरपालिकासँग छलफल भएको उनले बताए ।
यता धरान उपमहानगरपालिकाले समेत छलफल सकारात्मक रुपमा अगाडि बढेको बताएको छ ।
विशेष गरेर धरान उपमहानगरपालिकाले दुई वटा योजनालाई प्राथमिकतामा राखेर छलफलमा उठाएको थियो ।
स्मार्ट बसपार्क जसलाई उपमहानगरपालिकाले जसरी भएपनि सम्पन्न गर्नुपर्ने छ ।
अघिल्लो बर्षको अनुदान २ करोड ४ लाख नआएको र त्यो बजेट आएमा यही बर्षभित्र स्मार्ट बसपार्क निर्माण गर्ने विषयमा छलफलसँगै धरान ८ मा रहेको सभागृहको निर्माणलाई पूर्णता दिने विषयमा बढी केन्द्रित रहेर छलफल भएको उपमहानगरपालिका उपमेयर अइन्द्रविक्रम बेघाले बताएका छन् ।
धेरै विकास निर्माणहरु धरानमा अपूरो छन्, यसलाई पूर्णता दिने विषयमा गम्भीर छलफल भएको थियो ।
खासगरी तीनैतहको सरकारको समन्वय नहुदा धेरै विकास निर्माणका कामहरु अगाडि बढाउन नसकिएको र विकास निर्माणका काममा तीनै तहका सरकारको समन्वय र सहकार्यको खाँचो आवश्यता रहेको छलफलमा निष्कर्ष निकालिएको थियो ।