धरान / धरान स्थित बीपी कोइराला छुट्टै स्वायत्त संस्थाको स्थापना भएपनि तीन दशक पछि यसलाई छाता ऐनमा लाने सरकारी तयारी भएसँगै बीपीका राजनीतिक दल, प्रतिष्ठानका कर्मचारी, शिक्षक लगायत सम्बन्धित पक्ष आन्दोलित बनेका छन् ।
उनीहरुले संघर्ष समिति गठन गरेर आन्दोलनमा होमिएका हुन । आन्दोलनको निरन्तता स्वरुप शनिबार उनीहरुले बीपी कोइरालाको गेट अगाडिबाट धरानको भानुचौक सम्म मौन जुलुस समेत निकालेका छन् । उक्त जुलुस धरान २ को भानुचौकमा आएर सम्पन्न भएको छ ।
भारत र नेपालको मैत्रीपूर्ण सहयोगमा २०५० सालमा निर्माण भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सरकारले छाता ऐनमा लाने प्रक्रिया अगाडि बढाए सँगै धरानका राजनीतिक दल, समाजसेवी, बीपी प्रतिष्ठानका चिकित्सक,कर्मचारी, विद्यार्थी तथा शिक्षकहरुले संयुक्त रुपमा दबाव मूलक कार्यक्रमलाई अगाडि सारेका छन् ।
यस विषयमा संघर्ष समिति नै बनाएर अन्तरक्रिया सँगै प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाइसेको र उनीहरुले पछिल्लो विरोध स्वरुप आज मौन र्यालीकोे आयोजना गरेका हुन् ।
सधै राज्यबाट उपेक्षित धरान विगतमा अदालत लगायतका सरकारी कार्यालयहरु धमाधम धरानबाट सरेको र अहिले बीपीलाई पनि कोल्याप्स बनाउने सरकारी निर्णयले धरानको अस्तित्व समाप्त हुने भन्दै माओवादी केन्द्रका नेता मुक्साहाङ मेन्याङको संयोजकत्वमा प्रतिष्ठानका सरोकार वाला पक्ष तथा धरानका बुद्धिजीवि तथा सर्वसाधारणले आन्दोलन गरेका हुन् ।
नेपाल र भारतको प्रतीकको रुपमा छुट्टै विश्व विद्यालयको रुपमा स्थापना भएको यो अस्पताललाई गाभेको खण्डमा बीपीको अस्तित्व नै समाप्त हुने प्रतिष्ठानका कार्यरत कर्मचारी, शिक्षकहरुले बताउदै आएका छन् ।
शिक्षक कल्याण समाजका अध्यक्ष डा. शेराज खान प्रतिष्ठान छाता ऐनमा जाँदा फाइदा केही नभएको बताए ।
उनले प्रतिष्ठान छाता ऐनमा जाँदा प्रतिष्ठानको अस्तित्व नामेट हुने, छुट्टै विश्वविद्यालयको प्राक्टिसमा चलेको यो संस्था एम्सको मोडलमा सञ्चालनमा आएको बताए ।
यसकै मोडलमा अन्य अस्पताल समेत सञ्चालन भएको बताउदै अन्य अस्पताललाई बचाउने स्वार्थ राखेर प्रतिष्ठानलाई पनि छाता ऐनमा लान लागेको बताए ।
बीपीलाई छाता ऐन लान विद्येयक पारित भए सबैको लागि अहित हुने बताउदै सरकाले संघीय संरचनामा विकेन्द्रित गरेर जानुपर्नेमा अधिकार खोसेर केन्द्रिकृत गर्न खोजेकोप्रति आपत्ति जनाए ।
बीपीमा पठाइ हुने विभिन्न शंकायका पाठ्यक्रम छुट्टै किसिमको भएको र यहाँको पढाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता पाएको बताउदै छाता ऐनमा बीपी समावेश हुने वित्तिकै पठनपाठनमा समेत समस्या हुने विद्यार्थी कल्याण समाजका अध्यक्ष डा. ओम शान्ति रजकले बताए ।
नेपालकै सबैभन्दा पुरानो संस्था, नेपाल भारतको मैत्रीपूर्ण सहयोगमा निर्माण भएको यो संस्थालाई छाता ऐनमा लान नहुने भन्दै अहिले संघर्षसमिति बनाएर आन्दोलनमा होमिएको संघर्ष समितिका संयोजक मुक्साहाङ मेन्याङबोले बताए ।
ऐन लान विद्येयक पास गर्न लागेको बताउदै यसको विरोध स्वरुप निरन्तर आन्दोलन गर्दै आएको र आज भने शान्तिपूर्ण मौन र्यालीको आयोजना गरिएको उनले बताए ।
एम्सकै मोडलमा स्थापना भएको प्रतिष्ठानमा स्वास्थ्य सेवामात्र हैन, गुणस्तरीय चिकित्सक उत्पादनलाई समेत जोड दिँदै शिक्षालाई समेत जोड दिदँ आएको छ ।
एमविविएस अध्ययनबाट शुरु गरिएको प्रतिष्ठानमा अहिले नर्सिङ, डेन्टल लगायतका ५० भन्दा बढी कोर्षहरु अध्यापन गराइन्छ भने प्रधानमन्त्री कुलपति रहने प्रावधान भएपनि उपकुलपतिको अण्डरमा यहाँको सम्पूर्ण कार्यसम्पादन हुने गरेको छ ।
छाता ऐनमा प्रतिष्ठानलाई लाने वित्तिकै बीपीको अस्तित्व नै समाप्त हुने र यसको अस्तित्वलाई नामेट हुन नदिन आन्दोलनलाई निरन्तता दिएको संघर्ष समितिले जनाएको छ । ऐनमा समावेश गर्न नदिन निरन्तर आन्दोलन गर्ने संघर्ष समितिले जनाएको छ ।