इटहरी / सुनसरीको इटहरीस्थित एसओएस बालग्राममा बालबालिकाको हेरचाहसम्बन्धी प्रदेशस्तरीय अन्तर्कि्रया कार्यक्रम सम्पन्न भएको छ । एसओएस बालग्राम इटहरीको आयोजनामा आपतकालीन अवस्थामा वैकल्पिक हेरचाहमा रहेका बालबालिकालाई पुर्याउनुपर्ने सहयोगसम्बन्धी एक दिवसीय कार्यक्रम सम्पन्न भएको हो ।
एसओएस बालग्राम इटहरीको सभाहलमा भएको कार्यक्रमको अध्यक्षता एसओएस बालग्राम इटहरीका निर्देशक देवचरण चौधरीले गर्नुभएको थियो भने इटहरी उपमहानगरपालिकाकी उपप्रमुख सङ्गीताकुमारी चौधरीको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा इलाम, झापा, सुनसरी, मोरङलगायत प्रदेश नं. १ का विभिन्न जिल्लामा बालगृह सञ्चालन गर्दै आएका बालगृह सञ्चालकहरू, स्थानीय तहका प्रमुख, इलाका प्रहरी कार्यालय इटहरीका प्रनितिधिहरूलगायतको उपस्थिति रहेको थियो ।
राष्ट्रिय बाल–अधिकार परिषद्का प्रदेश समन्वय अधिकृत सुमन अधिकारीले बालबालिकाका लागि आपत्कालीन अवस्थामा कसरी हेरचाह गर्ने भन्ने विषयमा प्रशिक्षण दिनुभएको थियो । उक्त कार्यक्रममा प्रदेश १ का बालगृह सञ्चालक तथा सुनसरी जिल्लाका सबै स्थानीय तहका बाल–कल्याण अधिकारीहरूको उपस्थिति थियो ।
कार्यक्रमका मुख्य प्रशिक्षक अधिकारीले ‘बाल–अधिकार प्रवद्र्धन, अवस्था, सम्भावना र चुनौती’ शीर्षकमा प्रशिक्षण दिँदै बालबालिकाको हेरचाहमा आउने जटिलता, कानूनी अस्पष्टता र अपनाउनुपर्ने उपायबारे चर्चा गर्दै नेपालमा बालबालिकाका क्षेत्रमा उल्लेख्य काम भएको बताउनुभयो ।
प्रशिक्षक अधिकारीले बालबालिकासम्बन्धी ऐन २०७५, बालबालिकासम्बन्धी नियमावली २०७८ बारे प्रष्ट पार्दै जोखिममा परेका वा तत्कालै उद्धार गर्नुपर्ने अवस्थामा रहेका बालबालिकाका निम्ति हटलाइन १०४ वा १०९८ मा सम्पर्क गरी निर्देशनअनुसार गर्नुपर्ने पनि बताउनुभएको थियो । साथै, बालबालिकाका वैकल्पिक स्याहारका निम्ति वैकल्पिक स्याहारका चरण, वैकल्पिक स्याहारका निम्ति आवश्यक कागजातहरूबारे अधिकारीले जानकारी गराउनुभएको थियो ।
एसओएस बालग्रामको कार्ययोजना र कार्यशैलीसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै एसओएस हर्मन माइनर माध्यमिक विद्यालय इटहरीका प्रधानाध्यापक शान्तिराम तिम्सिनाले एसओएस बालग्राम बालबालिकाका क्षेत्रमा काम गर्ने सबै सङ्घसंस्थासँग सहकार्य गरी अघि बढ्न तत्पर रहेको बताउनुभयो ।
आपत्कालीन अवस्थामा रहेका बालबालिकाका क्षेत्रमा एसओएसले पु¥याएको योगदान चर्चा गर्दै तिम्सिनाले शिक्षा, स्वास्थ्य, स्वयंसेवा तथा मनोपरामर्शका क्षेत्रमा पर्याप्त जनशक्ति बालग्रामसँग रहेको बताउँदै सरकारी तथा गैरसरकारी संस्थाहरूसँग हातेमालो गरी बालबालिकाका क्षेत्रका काम गर्न आफू तयार रहेको तिम्सिनाको भनाइ थियो । विश्वभर १ सय ३८ देशमा फैलिएको एसओएस बालग्रामले विभिन्न कार्यहरू गर्दै अभिभावकविहीन बालबालिकाका क्षेत्रमा काम गर्दै आएको छ ।
एसओएस बालग्रामका निर्देशक देवचरण चौधरीले बालबालिकासँग सम्बन्धित क्षेत्रमा काम गर्ने सबैसँग हातेमालो गर्दै अघि बढ्न तयार रहेको बताउँदै सहकार्यका निम्ति आह्वानसमेत गर्नुभयो । कार्यक्रमकी प्रमुख अतिथि तथा इटहरी उपमहानगरपालिका उपप्रमुख सङ्गीता कुमारी चौधरीले बालबालिका संस्थाहरूप्रति सधैँ उदार भएर सहयोग गर्ने बताउनुभयो ।
नेपाल सरकारले आर्थिक वर्ष २०७९/८० भित्र जोखिमपूर्ण श्रमम रहेका बालबालिकाको सङ्ख्या शून्यमा झार्ने लक्ष्य लिएको छ । बालबालिकासम्बन्धी कार्य तीनै तहका सरकारले गर्ने संवैधानिक प्रावधान रहेको छ । सङ्घ, मन्त्रालय, राष्ट्रिय बाल–अधिकार परिषद्, महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालय हुँदै प्रदेशको सामाजिक विकास मन्त्रालय र स्थानीय तहमा बाल–अधिकार समिति, बाल सञ्जाल हुँदै न्यायिक समिति र बालबालिका तथा महिला शाखा रहने कानूनी व्यवस्था रहेको छ ।
नेपालको बालबालिकासम्बन्धी कानूनी व्यवस्था बलियो भए पनि कार्यान्वयन तह फितलो भएकाले धेरै बालबालिका जोखिमपूर्ण अवस्थामा रहेको देखिन्छ । संयुक्त राष्ट्रसङ्घले नेपालमा मातृ–शिशु् मृत्युदर घटेकोमा खुसी व्यक्त गरेता पनि संविधान कार्यान्वयनलगायत फितलो संयन्त्रका कारण नेपालमा बालबालिकाको अवस्थामा उल्लेख्य सुधार आउन नसकेको बताउने गरेको छ ।
सन् २०२३ मा विश्वमा बालबालिकासम्बन्धी कानूनी व्यवस्था सुरु भएको सय वर्ष पूरा हुँदैछ तापनि नेपालमा अझै सडक, होटल, कारखाना तथा जोखिमपूर्ण अवस्था रहनुका साथै यौनजन्य दुर्घटनाको शिकार हुनु परिरहेको अवस्था छ । कार्यक्रमका वक्ताहरूले अबको बाटोका रूपमा चेतनासँगै पारिवारिक आर्थिक सशक्तीकरण, सहभागितासँगै क्षमता विकासका क्षेत्रमा काम गर्नुपर्ने धारणा राखेका थिए ।
कानूनी प्रावधान नबुझी बालगृहहरूको सञ्चालनले बालगृहरूप्रति समाजमा नकारात्मक हेराइ हुन थालेकोप्रति इङ्गित गर्दै वक्ताहरूले सबैलाई सचेत हुन आग्रहसमेत गरे । बालबालिकासम्बन्धी अनुगमन गर्ने निकायका रूपमा हाल राष्ट्रिय बाल–अधिकार परिषद् देशैभर सञ्चालनमा रहेको छ ।