धरान । मुलुक स्थानीय तहको निर्वाचनको संघारमा छ । दलिय व्यवस्थाबाट संचालन भइरहेको मुलुकमा अधिकांश स्थानीय तहमा स्वतन्त्र उम्मेदवारहरुले पनि आफ्नो मनोनयन दर्ता गरेका छन् । उनीहरु स्थानीय तहको विकाशमा आफ्नो दाबी प्रस्तुत गर्दै अहिले घरदैलो समेत गर्न थालेका छन् ।
देशनै दलिय व्यवस्था अनुसार संचालन भइरहेको अवश्थामा स्वतन्त्र उम्मेदवारहरुले स्थानीय तहमा जित हात पारे पनि विकाश निर्माणमा कस्तो प्रभाव पार्न सक्छ भन्ने विषय पनि पेचिलो बन्दै गएको छ । स्थानीय तह देखि प्रदेश र संघीय सरकारमा पनि दलिय व्यवस्था अनुसारनै हुने भए पछि स्वतन्त्र उम्मेदवारले आफ्नो क्षेत्रको विकाशमा कसरी योगदान दिन सक्छन् भन्ने सकारात्मक तथा नकारात्मक टिप्पणीहरु हुन थालेका छन् ।
स्थानीय तहको निर्वाचनका लागि गत आइतबार र सोमबार भएको मनोनयन दर्ता गर्दा धरानमा पनि दलगत उम्मेदवार भन्दा पनि बढी स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी दिएका छन् । कसैले पार्टी प्रति रुष्ट बन्दै उम्मेदवारी दिएका छन् भने कसैले धरानको विकाशमा दलहरुले काम गर्न नसकेको भन्दै उम्मेदवारी दिएका छन् ।
निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार धरानमा प्रमुख पदका लागि २२ जनाले दिएको उम्मेदवारीमा ८ जना स्वतन्त्र उम्मेदवार छन् भने २ जनाले उपप्रमुखका लागि उम्मेदवारी दिएका छन् ।
धरानमा स्वतन्त्र उम्मेदवारहरुको चर्चा चलिरहँदा पर्यटन व्यवसायी बासुदेव बराल सामाजिक सञ्जाल मार्फत ‘स्वतन्त्र उम्मेदवार भएर आफ्नो टिम अरू वडामा जित्ने गरि नउठाई आफू एक्लै मात्र उठेर जित्न खोज्ने मानिसले जनताको काम गर्न सक्ला त ?’ भनेर प्रश्न गर्छन । उनी भन्छन्, ‘हामी संसदीय प्रणालीमा छौ, हाम्रो व्यवस्था अनुसार जनताका प्रतिनिधीहरूको बहुमतले सरकारहरू सञ्चालन गर्ने हो, नीति निर्माण गर्ने र लागु गर्ने हो, दुई तिहाई बहुमत अर्कातिर भएका कारण नै मेयर भएता पनि तिलक राईले घोषणापत्र अनुसार कुनै कुरा लागु गर्न सकेनन्, बहुमत एकातिर नेतृत्व अर्कोतिर हुँदा नगरपालिकाहरूमा झन् गञ्जागोल बन्छ ।’ मेयरमा उठेर आफ्नो टिम बनाउन नसक्ने मानिस दलका उम्मेदवार भन्दा पनि बढी स्वार्थी र आफू मात्र सर्वेसर्वा हो जस्तो देखिएको उनको दाबी छ ।
धरान उपमहानगरपालिकाको हकमा नगरपालिकामा विकास गर्न सरकारले यथेष्ट बजेट दिनु पर्ने उनको भनाई छ । उनी भन्छन्, ‘आफ्नो आम्दानी मात्रले त नगरपालिकाले कर्मचारी पनि पाल्न पुग्दैन, विकास कताबाट गर्ने ? त्यसको लागि सरकारकै मुख ताक्नु पर्छ, त्यो पनि जति पहूँच भयो त्यति धेरै आउने हो ।’ स्वतन्त्र उम्मेदवार जसले दलहरूलाई निरन्तर खबरदारी गरिरहेको छ उसको नेतृत्वमा रहेको पालिकालाई सरकारमा रहेकाले बजेट देलान् भनेर पत्याउन मुस्किल पर्ने उनको भनाई छ । मुलुक संसदीय प्रणालीमा हुन्जेल दलहरूकै नेतृत्वलाई मत दिनुनै सबैका लागि ठिक हुने उनी बताउँछन् ।
दलिय व्यवस्थामा स्वतन्त्र उम्मेदवारलाई जित हासिल गर्न समस्या छ । न त उनीहरुको संगठन बलियो हुन्छ, न त माथिल्लो तहमा पहुँच नै पु¥याउन सक्छन् । जित हासिल गरे पनि काम गर्न असहज अवश्था आउने महेन्द्र क्याम्पस धरानका अर्थशास्त्रका प्राध्यापक डा. अमृत श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘दलिय आधारमा उठ्दा उसको सरकारनै नभए पनि उसको प्रभाव पर्छ, त्यसैले दलको माध्यमबाट उसले बोलेका कार्यक्रमहरु सम्पन्न गर्न सहज हुन्छ, तर स्वतन्त्र उम्मेदवारहरुमा केन्द्रिय संगठनहरु हुँदैन्, केन्द्रिय नेता पनि हुँदैन्, स्वतन्त्र उम्मेदवारबाट जितेका लाई त्यती वास्ता गरिन्दैन् ।’
स्वतन्त्र उम्मेदवारले आफ्नै श्रोत साधन परिचालन ग¥यो भने मात्रै स्थानीय तहको विकाश सम्भव हुने उनको भनाई छ । उनले भने, ‘राजनैनितक दलको कार्यकर्ताको जस्तो काम गर्न सजिलो हुँदैन, काम गर्ने हिसाबले, बजेट ल्याउने हिसाबले पनि समस्या हुन्छ ।’ धरानमा केही स्वतन्त्र उम्मेदवारहरु पार्टीबाट असन्तुष्ट जाहेर गर्दै जित्नु भन्दा पनि हराउनका लागि उठेको उनको दाबी छ ।
स्थानीय तहमा स्वतन्त्र उम्मेदवारले जित हासिल गर्दा केन्द्रको बजेट ल्याउन नसकिने भन्ने होईन् । सरकारको निति, कार्यक्रम अनुसार बजेट ल्याउन सकिन्छ तर स्वतन्त्र उम्मेदवारको प्रतिवद्धता जनताले विश्वास गर्न सक्ने हुनुपर्ने बुद्धिजिवी प्राध्यापक हरि प्रसाद दाहाल बताउँछन् । उनी भन्छन्, ‘उनीहरुले चै कार्यक्रम दिन सक्नु प¥यो, योजना ल्याउन सक्नुप¥यो, विकाश निर्माणमा हामी काम गर्न सक्छौं भनेर जनतालाई विश्वास दिलाउन सकनुप¥यो ।’ स्वतन्त्र उम्मेदवारले जित हासिल गरे पनि सबै जनप्रतिनिधीहरुलाई एकै साथ लिएर हिड्न सक्नुपर्ने उनको भनाई छ ।
धरानमा स्वतन्त्र उम्मेदवारहरुले खानेपानी समस्या, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्यालाई मुख्य मुद्धा बनाएका छन् । यी दुवै कामहरु केन्द्रिय सरकार र प्रदेश सरकारसँगको समन्वय बिना सम्भव नहुने स्थानीयहरु बताउँछन् । धरान १५ का राजन श्रेष्ठ भन्छन्, स्वतन्त्र उम्मेदवार भन्दा पनि दलकै नेतृत्व आवश्यक छ, धरानको विकाशमा स्थानीय तहलाई केन्द्र सँग जोड्ने व्यक्तिकै आवश्यक्ता रहेको छ ।’