धरान । पुरुष साथी सँग होटलमा बसेकी एक महिलाको शव भेटिए पछि उनको हत्या हुन सक्ने आशंका गरिएको छ ।
मंगलबार धरान १८ स्थित न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसमा मृत अवश्थामा भेटिएकी महिलाको शरीरमा चोटपटक देखिएकाले हत्या भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । मृतक इटहरी ५ मा डेरा गरि बस्ने ३९ वर्षिय सुमित्रा तामाङ रहेको खुलेको छ । उनी होटलमा मृत अवश्थामा भेटिएकी थिईन् भने उनका साथी फरार रहेका छन् ।
महिलाको शरीर अनुहार मात्र देखिने गरि सिरक ओढाएको अवस्थामा भेटिएको थियो । प्रहरीले मुचुल्का उठाउने क्रममा मृतकको शरीरमा चोटपटक देखिएको छ । अनुहार र जिउमा चोटपटक देखिएकाले घटना शंकास्पद रहेको प्रहरीको भनाई छ । इलाका प्रहरी कार्यालय धरानका प्रमुख नरेन्द्र कुँवरले शंकाकै आधारमा थप अनुसन्धान गरिरहेको बताए । केही मानिसहरुको नाम आए पनि यकिन भन्न नसकिने उनको भनाई छ । उनीहरुको सम्बधको विषयमा पनि कुनै तथ्य नआएको उनले बताए । उनले भने, ‘शंकाकै भरमा सबै भन्न सकिन्दैन्, हामीले अनुसन्धान गरिरहेका छौं ।’
प्रहरीले मृतकसँगै होटलमा बस्न आएका युवाको खोजी तीब्र पारेको छ । फरार रहेका युवाले नाम जीवन मगर र ठेगाना धनकुटा लेखाएका छन् । तर, उनको नाम र ठेगाना गलत लेखाएको हुनसक्ने प्रहरीको अनुमान छ । मृतक महिलाको भने छोरा र छोरी आएर सनाखत गरेका थिए । आवश्यक प्रक्रिया पुरा गरि शव धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।
मृतकका श्रीमान वैदेशिक रोजगारीमा ब्रुनाईमा छन् । भारतीय सेनाबाट अवकाश पाएपछि उनी ब्रुनाईमा गएका हुन् । मृतकको झोलामा भएको कागजपत्रको आधारमा उनको परिचय र ठेगाना खुलेको थियो । झोलामा पाँचथरको मिक्लाजुङ गाउँपालिका १ ठेगाना रहेको मतदाता परिचयपत्रबाट खुलेको थियो ।
होटलमा २ दिनदेखि तामाङ र एक पुरुष होटलमा बसेका थिए । मंगलबार बिहान सफा गर्न गएका कर्मचारीले महिलाको शव देखेका थिए । त्यस पछि प्रहरीलाई खबर गरिएको थियो ।