धरान । बजेटको सुनिश्चितता हुन नसक्दा उदयपुर र खोटाङको विभिन्न खोलाहरूमा निर्माणाधिन झोलुङ्गे पुल अलपत्र बनेको छ ।
अघिल्लो वर्षनै सम्पन्न भइसक्नु पर्ने योजनाहरु बजेट अभावकै कारण अलपत्र बनेको हो । दुई जिल्लामा रहेका विभिन्न खोलाहरूमा निर्माणाधीन नौवटा झोलुङ्गे पुलको निर्माण कार्य अलपत्र परेको छ । पूर्वाधार विकास कार्यालय उदयपुरका अनुसार संघीय सरकारले लागत इष्टमेट अनुसार रकम र पुल निर्माणका लागि फलामे लठ्ठाहरू समेत उपलब्ध नगराउँदा उदयपुर र खोटाङमा गरी हाल निर्माणाधीन अवस्थामा रहेका नौ वटा झोलुङ्गे पुलको निर्माण कार्य अलपत्र परेका हुन् ।
कार्यालयका अनुसार ग्रामीण सडक निर्माणमा तीव्रता दिएको भए पनि खोटाङ र उदयपुरका विकट पहाडी गाउँ वस्तीहरूलाई जोड्ने उद्देश्यले निर्माण गरिएको झोलुङ्गे पुल आवश्यक सामाग्री र बजेट अभावमा अलपत्र परेको छ । नौवटा लामो तथा छोटो झोलुङ्गे पुलहरू समेत निर्माण गर्दै आएको पूर्वाधार विकास कार्यालय उदयपुरका प्रमुख जितेन्द्रकुमार कर्णले बताउँछन् ।
आर्थिक वर्ष २०७६÷०७७ बाट क्रमागत रूपमा निर्माणको काम सुरु गरिएको बहुवर्षीय योजना अन्तर्गत उदयपुरका ६ र खोटाङका तीनवटा गरी जम्मा नौ वटा झोलुङ्गे पुलको फाउण्डेसन निर्माण गरिएको भए पनि बाँकी कामहरू अगाडि बढ्न नसकी बीचैमा नै अलपत्र परेको प्रमुख कर्णको भनाई छ ।
१ सय २० मिटर लामो उदयपुरको त्रियुगा नगरपालिका १२ को बरुवा खोला झोलुङ्गे पुल, कटारी नगरपालिका ८ को सुनकोसी नदीमा निर्माणाधीन चिपटार झोलुङ्गे पुल, चौदण्डिगढी नगरपालिका १० स्थित विनगर खैराहाझोडा जोड्ने ४ सय मिटर लामो त्रियुगा नदीको झोलुङ्गे पुल, उदयपुगढी गाउँपालिका ७ स्थित अँधेरी खोला झोलुङ्गे पुलको निर्माण कार्य अगाडि बढ्न सकेको छैन ।
यसैगरी रौतामाई गाउँपालिका ७ स्थित पुवारे धाप झोलुङ्गे पुल, त्रियुगा नगरपालिका १२ स्थित त्रियुगा नदीको बिसनपुर झोलुङ्गे पुल, बेलका नगरपालिका ४ स्थित विज्ञानचोक रातापानी जोड्ने गिदेरी खोला झोलुङ्गे पुल निर्माणको कामले गति लिन सकेको छैन ।
त्यस्तै खोटाङको केपिलासगढी ऐंसेलुखर्क जोड्ने रावाखोला झोलुङ्गे पुल, बाराहापोखरी गाउँपालिका स्थित लवुवा खोला झोलुङ्गे पुल र हलेसी तुवाचुङस्थित थिगुवा बाडेटार जोड्ने झोलुङ्गे पुल निर्माणको काम अलपत्र रहेको कार्यालयका साइड ईन्जिनियर रमेसकुमार कार्कीले बताउँछन् ।
उदयपुर र खोटाङ दुई जिल्लामा सञ्चालन गरिने भौतिक पूर्वाधारहरूको विकास निर्माणमा प्राविधिक सेवा प्रवाह गर्ने उद्देश्यले गाईघाटमा स्थापित यस कार्यालयले खोटाङ अन्तर्गतका विभिन्न झोलुङ्गे पुल तथा सम्बन्धित सडकहरू निर्माण गर्दै आएको छ । तर, संघीय र प्रदेश १ को सरकारले लागत इष्टमेट अनुसारको बजेट र निर्माण सामाग्रीहरु उपलब्ध नगराउँदा अघिल्लो वर्ष नै सम्पन्न भइ सक्नु पर्ने योजनाहरू अहिलेसम्म पनि निर्माण कार्य सुचारु हुन सकेको छैन ।