धरान । करिब दुई दशक देखि विवादित बनेको धरानको स्मार्ट बसपार्कको निर्माणले गति लिएको छ ।
विवाद साम्य भएपछि बसपार्कको निर्माण कार्यको पहिलो चरण तिब्र गतिमा अघि बढेको हो । डिपिआर अनुसार बसपार्कलाई स्मार्ट बसपार्क बनाउने योजना अनुसार काम अघि बढेको छ । बसपार्कका लागि भुइ सतहमा ढलाइ हुदैछ भने चारकोशे जंगल हुँदै जाने मदन भण्डारी राजमार्ग जोड्नका लागि सडक तथा ड्रेनको काम समेत भइरहेको छ । समयमै बसपार्क निर्माण सम्पन्न गर्न दैनिक ४० देखि ५० जना मजदुरहरु खटिएका छन् । तिन वर्ष भित्रमा स्मार्ट बसपार्क निर्माण सम्पन्न गर्ने लक्ष्य सहित काम भइरहेको छ ।
धरानको भानुचोकमा रहेको बसपार्क साघुँरो हँुदै गए पछि धरान उपमहानगरपालिकाले २०५८ सालमा धरान ८ तीनकुने सुन्दर बस्तीमा नयाँ बस पार्क बनाउने योजना ल्याएको थियो । वस्ति बिकासको आयोजनामा १ बिघा १५ कट्ठा जमिनमा बस पार्कको डिपिआर तयार गरेको थियो । तत्कालिन कर्मचारीहरुले आफ्नो नाममा जग्गा खरिद गरेको भन्दै स्थानीयले विरोध गर्न थाले पछि बसपार्क निर्माणको काम ठप्प भएको थियो ।
लामो समय विवादित बनेको बसपार्क पछिल्लो समय धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीको पहलमा बसपार्कले मुर्तरुप पाएको थियो । उनी कार्यवाहक प्रमुख भएका बेला पटक पटक स्थानीय सँग छलफल गरि विवाद समाधान गरेकी थिईन् । उनकै पहलमा संघीय सरकार र प्रदेश सरकारले बजेट विनियोजन गरिदिए पछि १ वर्ष यता बसपार्क निर्माणले गति लिएको हो ।
३८ कट्ठा क्षेत्रफलमा उपमहानगरपालिकाले स्मार्ट बस पार्क बनाउन लागेको छ । बस पार्कका लागि ४३ करोड लाग्ने अनुमान गरिए डिपिआर शंसोधन गर्दै अहिले २५ करोड रुपैया बजेट राष्ट्रिय योजना आयोगबाट छुट्टिएको छ । सरकारबाट बसपार्कको डीपीआर तथा डिजाइन तयार गर्ने ठेक्का ऋषिकेश सर्भिसेस प्रालिले पाएको थियो । डीपीआर अनुसार स्मार्ट बसपार्क बेसमेन्ट सहित तीन तलाको हुनेछ । बेसमेन्टमा २ सय ओटा साना गाडी र १ सय ५० ओटा मोटरसाइकल अट्ने पार्किङ रहनेछ । भुइतलामा यात्रु प्रतिक्षालय, टिकट काउन्टर, एटिएम बुथ, सेक्युरिटी कक्ष, सार्वजनिक शौचालय, उपचार केन्द्र र मिनीमार्ट हुनेछ । बसपार्कको तेस्रो तलामा यात्रु लक्षित संरचना हुनेछन् । यस तलामा क्याफे र व्यापारिक कोठाहरू रहने तिनकुने सुन्दर बस्ति आयोजना प्रमुख खगेन्द्र खतिवडाले बताए ।
तिनकुनेमा बस पार्क बन्नु अघिनै धरानमा २ स्थानमा बस पार्क रहेको थियो । भानुचोकमा चाप बढ्दै गए पछि ५ बर्ष अघि नै रात्रीकालीन बस पार्क धरान १५ स्थित पाथिभरा लाईनमा सारिएको थियो । हाल ७ देखि १० सम्मा वटा रात्री बसहरु रात्रीकालीन बसपार्कबाटै संचालन हुने गरेका छन् ।
लामो समय देखि बन्न नसकेको बस पार्क बन्ने भएकाले स्थानीयहरु पनि खुशी भएका छन् । जुन कामका लागि जग्गा दिएका थियौं, त्यही प्रयोजन अनुसार बसपार्क बन्न लागेकाले खुशी भएको स्थानीय श्री राई बताउँछन् ।
लामो समय देखि बस पार्क निर्माणको प्रयत्न गर्न खोज्दा विवादमा रहेको थियो । उपमहानगरपालिका उपप्रमुख भण्डारी भन्छिन्, ‘कसैले नसकेको काम सफल भयो र निर्माण हुदैछ यो हाम्रो लागि निकै खुसिको कुरा हो ।’