धरान । मेची राजामार्गको इलाम नगरपालिकामा पर्ने धोवीधाराखण्डमा सडक भत्किएर अवरुद्ध बनेको तीन महीना पछि सञ्चालनमा आएको छ । साविक मेचीका चार जिल्ला जोड्ने सडक भत्किएपछि अवरुद्ध बनेको राजमार्ग तीन महिना पछि एकतर्फी सञ्चालनमा आएको हो ।
पहिरोेको भित्ता खनेर सोमबार साँझदेखि एकतर्फी रूपमा सवारीका साधन गुड्न थालेको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले बताए । उनले भने, ‘तत्काललाई एकतर्फी खुलेको भएपनि मेची राजमार्ग खुलेको छैन्, रातिको समयमा अझै पनि केही जोखिम छ तर दिउँसो मालबाहक सवारी साधन गुडाउन सकिन्छ ।’ धोबिधारातर्फ दिउँसो र राति नै साना–ठूला सवारी साधन गुडाउन सक्ने भएपनि धोवीधाराबाट जीरोतीर आउन ओरालो कच्ची सडक रहेकाले राति केही जोखिम रहेको श्रेष्ठ बताउँछन ।
डिभिजन सडक कार्यालयले मर्मतको काम गरिरहेको छ । पक्की सडक बनाउन अझ केही महिना लाग्ने डिभिजन प्रमुख विदुर पोख्रेलले बताए । उनले भने, ‘अहिले रातदिन काम भइरहेको छ, मेची राजमार्ग चालू गर्न सकेसम्म छिटो काम गराइरहेका छौं ।’
गत असोज १६ गते बिहान वर्षा नै नभएका बेला यहाँको करिब २० मिटर मेची राजमार्ग ८० प्रतिशतभन्दा बढी झरेको थियो । बाँकी सडक पनि चर्किएर जोखिम भएपछि ४ महिनादेखि सवारी साधन बन्द थिए । गत कात्तिक ४ गते अविरल वर्षापछि आएको पहिरोले यो भाग पूरै चुँडिएपछि राजमार्ग थप क्षतिग्रस्त थियो । भिरको खोल्सीमा तलबाट अग्लो पर्खाल र ह्युमपाइप लगाएर निर्माण गरिएको राजमार्ग ह्युमपाइपसहित पहिरो झर्दा अवरुद्ध बनेको थियो । सडक भत्किएपछि राजमार्गमा गुड्ने सवै सवारीसाधन इलामबजार भएर सञ्चालन भएका थिए । बजारमा सानो सडक भएको र राजमार्गमा गुड्ने मालवाहाक सवारी गुडेसँगै सडक अवरुद्धले धेरै समयसम्म जाम हुने गरेको थियो । सबैगाडी बजारबाटै गुड्नु पर्ने समस्या रहेकाले दवाव पूर्णरुपले निरन्तर काम गरिरहँदा तीन महिनापछी एकतर्फी सवारी सञ्चालनमा आएपनि पूर्ण रुपमा सञ्चालन हुन अर्झै केहीसमय लाग्ने सडक डिभिजन कार्यालयले जनाएको छ ।