लन्डन/ राजनीतिक उतारचढावका कारण विस्थापित भएका अफगानिस्तानका नागरिकहरूका लागि बेलायतमा रहेको सगरमाथा गोरखा नेपाली समाज आसफोर्ड केन्टले भौतिक सामग्री प्रदान गरेको छ ।
अफगानी बालबालिकाको शिक्षाका लागि भन्दै समाजले भौतिक सामग्री सहायता स्वरूप हस्तान्तरण गरेको हो । आसफोर्ड बोरो काउन्सिल (नगर परिषद)को कार्यालयमा एक कार्यक्रम बीच सगरमाथा नेपाली समाजले पाँच थान कम्प्युटर प्रदान गरेको अध्यक्ष प्रसाद छन्त्यालले जनाए ।
तालिवानी विद्रोहीले गत अगष्टमा सत्ता कब्जा गरे पछि विस्थापित भएका नागरिकहरू मध्ये केहीलाई बेलायत सरकारले आफ्नो देशमा पुनःस्थापना गर्ने भए पछि आएका अफगानी नागरिकहरूलाई मानवीय सहयोग गर्न सामग्री प्रदान गरेको उनले बताए । उनले भने, ‘काउन्सिलले अफगानी र परिवारलाई सहयोग गर्न आह्वान गरे पछि हामी पनि जुटेका थियौँ । र, आसफोर्ड क्षेत्रमा पुनःस्थापित गरिएका अफगानी बालबालिकाहरूका लागि हामीले शिक्षाग्रहण गर्न सहज होस् भनेर केही थान ल्पापटप कम्प्युटर प्रदान गरेका हौ ।’
काउन्सिलका उपमेयर जेनी वेभलाई पाँच थान कम्प्युटर हस्तान्तरण गरिएको कार्यक्रम संयोजक एवम् समाजका वरिष्ठ उपाध्यक्ष डम्मर सिङ्गकले जनाए । उनले आसफोर्डमा रहेका करिब ३० जना अफगानी बालबालिकालाई अध्ययन गर्न कम्प्युटर आवश्यक परेको उनले बताए । हस्तान्तरण कार्यक्रममा काउन्सिलबाट काउन्सिल लिडर जेरी क्लार्कसन, मुख्यकार्यकारी ट्रेसी कर्ली, वरिष्ठ सूचना अधिकृत जेफ सिम्स, आवासीय टिमका रेबिका, जिना लगायत थिए । त्यस्तै, सगरमाथा नेपाली समाजबाट अध्यक्ष छन्त्याल, वरिष्ठ उपाध्यक्ष सिङ्गक, उपाध्यक्ष रामप्रसाद तुम्बाहाङ्फे, सचिव लाहाङ चेम्जोङ, मिडिया सचिव अमित थेवे, सगरमाथा महिला कमिटीका पूर्व अध्यक्ष राजदेवी गुरूङ, मुख्य सल्लाहकार वसुन्धरा नेयोङ राई, सल्लाहकार अमृता लिम्बु, सदस्य होम बहादुर लिम्बु थिए ।
सन् २००४ मा स्थापना भएको समाजले च्यारिटीको क्षेत्रमा वर्षेनी कामहरू गर्दै आएको छ । गतवर्ष राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा कार्यरत स्वास्थ्यकर्मीहरूका लागि भन्दै काउन्सिलकै सामाजिक क्षेत्रमा सहभागी हुने देखि स्वतन्त्र रूपमा मानवीय सहयोगका लागि गतिविधिहरू पनि गर्ने गरेको महिला कमिटीका मुख्य सल्लाहकार वसुन्धरा नेयोङ राईले बताइन् । समाजले हरेक वर्षको ख्रिष्टमस पर्वमा घरबार विहीनका लागि खाद्य सामग्री प्रदान गर्दै आइरहेको छ । त्यस्तै, खेलकुद, कला, सँस्कृति, साहित्यका लागि कार्यक्रमहरू आयोजना गदैै आइरहेको छ । काउन्सिलले वर्खा याममा गर्ने ग्लोबल कल्चरल मिटमा सहभागी भएर विश्वका विभिन्न देशका नागरिकहरू माझ नेपाली कला, गीत, संगीतको प्रचार पनि गर्दै आइरहेको सचिव लाहाङ चेम्जोङले बताए । महिला कमिटीका पूर्व अध्यक्ष राजदेवी गुरूङले समाजले ड्रिमप्रोजेक्टका रूपमा नेपाली समुदायको सामूहिक गतिविधि अघि बढाउन घर खरिदको प्रक्रिया पनि चलिरहेको जनाइन् । प्रोजेक्टका लागि काउन्सिलले समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको सुनाइन् ।