सुनसरी । पाथीभरा एड्भरटाइजिङ प्रालि आठौं वर्षमा र पाथीभरा जब लिङ्क तेस्रो वर्ष प्रवेश गरेको उपलक्ष्यमा दुवै कम्पनीले संयुक्त रुपमा भेन्डिङ मेसिन र सेनेटरी प्याड वितरण गरेको छ ।
कम्पनीले आइतबार एक कार्यक्रमको आयोजना गरि इटहरीमा रहेको जनता बहुमुखी क्याम्पस र इटहरी २ मा रहेको महेन्द्र माध्यमिक विद्यालयमा सामाग्री बितरण गरेको प्रबन्ध निर्देशक पवन अधिकारीले बताए ।
उनका अनुसार विद्यार्थीहरूमा महिनावारी भएको समयमा समस्या नहोस् भन्नका लागि भेन्डिङ मेसिन हस्तान्तरण गरिएको हो । सामाग्री बितरण कार्यक्रममा जनता बहुमुखी क्याम्पसकी प्रमुख प्रा. डा. गीता अधिकारीले भेन्डिङ मेसिनले क्याम्पसलाई फाइदा पुगेको बताइन् । उनले महिनावारी भएकै कारण क्याम्पसमा किशोरीहरुले पढाई छाड्नुपर्ने बाध्यता हटेको बताइन् । उनले भनिन्, “यो मेसिनले ठूलो राहत पुगेको छ, अब क्याम्पसमा अध्ययनरत छात्राहरूलाई निकै सहज हुनेछ ।”
जनता क्याम्पसमा अध्ययनरत छात्रा अप्सरा कार्कीले महिनावारी भएको समयमा क्याम्पस नै आउन कठिन हुने बाध्यता हटेको बताइन् । उनले भनिन्, “अब क्याम्पसमा हामी जस्तै किशोरीहरूलाई सहज भएको छ, यो मेसिन अति आवश्यक थियो ।”
यसैगरी महेन्द्र माध्यमिक बिद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष टंक पौडेलले पूर्व बिद्यार्थीहरू यहाँ आएर विद्यार्थीको हितमा काम गर्नुले आफूहरू लाभान्वित भएको बताए । अधिकारी महेन्द्र माध्यमिक विद्यालयका पुर्व विद्यार्थी हुन् । पाथीभरा जब लिङ्कले बेरोजगारी युवाहरूलाई रोजगारी प्रदान गर्दै आएको छ भने एडभरटाइजिङले प्रदेश १ मा रहेर स्थानीय एवम् राष्ट्रिय रूपमा विज्ञापन क्षेत्रमा काम गर्दै आएको छ ।