धरान । धार्मिक पर्यटकीय क्षेत्रको रुपमा ऐतिहासिक धरान १४ विजयपुरमा रहेका मन्दिरहरुमा कोरोना संक्रमण कारण भक्तजनहरु घटेका छन् ।
विजयपुरमा रहेका प्रख्यात र भिडभाड हुने मन्दिरहरु दन्तकाली, बुढासुब्बा, पिण्डेश्वर मन्दिरमा विगतको भन्दा कम भक्तजनहरु आउने गरेको मन्दिर व्यवस्थापन समिति र मन्दिरका पूजारीहरुले बताएका छन् ।
दन्तकाली मन्दिर व्यवस्थापन समितिका सदस्य विश्वराज खनालका अनुसार अत्याधिक बढेको चीसो र कोरोना संक्रमणको दर वृद्धि हुँदै जाँदा भक्तजनहरु धेरै घटेको बताउँछन् । उनले विगतमा दैनिक १ हजार भक्तजन आउने र शनिवार २ हजार भक्तजन आउने गरे पनि अहिले यो संख्या घटेको बताए । उनले भने, ‘विगतमा सरदर १ हजार भक्तजन मन्दिर दर्शनका लागि आउने गर्दथे, शनिवार भने त्यसको दोब्बर भक्तजन आउने गर्दथे, यो शनिवार भने मुस्किलले १ सय जना भक्तजन आए ।’ उनले कोरोना संक्रमणको त्रास र पछिल्लो पटक अत्याधिक बढेको चीसोका कारण भक्तजनहरु उल्लेख्य रुपमा नआएको बताए ।
यस्तै पिण्डेश्वर मन्दिरमा पनि रहेको छ । पिण्डेश्वर मन्दिरमा पनि दन्तकाली मन्दिरकै जस्तो भक्तजन घटेको पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास वनेपालीले बताए । उनले भने, ‘अत्याधिक चिसो छ, त्यसमाथि पनि कोरोनाको त्रास उत्तिकै छ, अहिले भक्तजनको आगमनमा ह्वात्तै घटेको छ ।
विजयुरका धार्मिक स्थलमा आएका भक्तजनहरु एउटा मन्दिरलाई मात्र लक्षित गरेर दर्शन गर्न नआउने भएकोले भक्तजनहरु दन्तकाली, पिण्डेश्वर र बुढासुब्बाको दर्शन गर्ने भएकाले सबै मन्दिरमा आउने भक्तजनको संख्या प्रायः उस्तै उस्तै हुने गरेको वनेपाली बताउँछन् । धरान उपमहानगरपालिकाका १४ नंं वडा समितिका अध्यक्ष कृष्णप्रसाद भट्टराईले कोरोनाको संक्रमण भएपनि मन्दिरहरु बन्द नभएको बताउँछन् । उनी भन्छन्, ‘सबै मन्दिरहरुले स्वास्थ्य मापदण्ड पालना गराएर मात्र मन्दिरमा दर्शन गर्न दिइने भएकोले जोखिम नभएको बताए । उनी भन्छन्, ‘सबै क्षेत्र खुल्ला छन्, मन्दिरमात्र बन्द गरेर कोरोना संक्रमण कम हुँदैन, त्यही भएर यहाका मन्दिरहरु स्वास्थ्य मापदण्ड पालना गरेर खोल्न दिएका हौं ।’