धरान । स्थानीय तहको अवधि समाप्त हुनै लाग्दा दलहरुले जेष्ठ ४ गते एकै चरणमा निर्वाचन गराउने सहमति गरे पनि औपचारिक रुपमा निर्णय नभइसकेको अवस्थामा अहिले स्थानीय निर्वाचन तोकिएकै समयमा हुनुपर्ने दबाब शुरु भएको छ ।
स्थानीय तहको निर्वाचत गराउन दबाब दिदै प्रदेश एकका विभिन्न जिल्लामा कतै सडक बहस शुरु गरिएको छ भने कतै नमुना मतदान गर्दै दबाब दिन थालिएको छ । संविधानअनुसार तोकिएको समयमा नै स्थानीय तहको निर्वाचन गर्नुपर्ने माग राख्दै एमाले निकट विभिन्न भातृसंगठनहरुले देशका विभिन्न जिल्लामा निरन्तर प्रदर्शन गर्दै आएको छन् ।
यसै क्रममा संविधानले एक दिन पनि जनप्रतिनिधिविहीन स्थानीय तहको परिकल्पना नगरेको बताउँदै एमालेनिकट विद्यार्थी सङ्गठन अनेरास्ववियु प्रदेश १ कमिटीले स्थानीय तह निर्वाचनको माग गर्दै विराटनगरमा सडक बहस गरेको छ ।
सरकारले निर्वाचन मिति घोषणा गर्न आलटाल गरिरहेको आरोप लगाउँदै विराटनगर ट्राफिक चोकमा आयोजित कार्यक्रमका वक्ताहरूले स्थानीय तहको निर्वाचन तत्काल घोषणा हुनुपर्ने बताएका छन् । प्रदेश १ का पूर्व मुख्य न्यायाधिवक्ता चूडामणि आचार्यले सरकारले संविधानको बर्खिलाप गर्नेगरी निर्णय गर्न नसक्ने बताए । सरकारको भजन गाउने कानुन व्यवसायीलाई बोलाएर संविधानको छिद्र खोज्ने काम भइरहेको उनले आरोप लगाए । उनले अविलम्व निर्वाचनको मिति घोषणा हुनुपर्ने बताए ।
अर्थशास्त्री प्रा.डा.अर्जुन बरालले संविधानको व्यवस्था अनुसार तत्काल निर्वाचनको मिति घोषणा गर्न माग गरे । उनले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन नहुनेमा जोड दिए । देशमा आर्थिक अवस्था कमजोर भइरहेका समयमा भ्रष्टाचार बढ्दो अवस्थामा रहेको उनले बताए । सरकार भ्रष्टाचार रोक्न उदासीन देखिएको उनको आरोप छ । डा. बरालले प्रदेश १ सरकारले आर्थिक भार पर्नेगरी मन्त्रालय थप गर्ने कार्य शुरु गर्नु गलत भएको बताए । उनले भने, ‘सरकारको यो कदमको सबैले विरोध गर्नुपर्छ ।’
मानवअधिकारकर्मी सोमराज थापाले समयमा निर्वाचन नहुँदा मुलुक अस्थिरतातर्फ जाने बताए । उनले संविधानअनुसार निर्धारित मितिमै निर्वाचन हुनुपर्ने माग गरे । सत्तालाई टिकाउनका लागि निर्वाचन मिति पर सार्न नमिल्ने थापाको भनाइ छ । पत्रकार यज्ञ शर्माले वर्तमान सरकार निर्वाचनमा जान डराइरहेको बताए । चौतर्फी दबाबपछि सरकार स्थानीय तहको निर्वाचन जेठमै गर्नुपर्ने मनस्थितिमा देखिए पनि निर्वाचन मिति घोषणा गर्न आलटाल गरिरहेको उनको भनाइ छ । निर्वाचन हुन नदिन विभिन्न षडयन्त्र भइरहेकाले जनदबाब आवश्यक रहेको शर्माको भनाइ छ ।
उता स्थानीय तह निर्वाचन गर्नुपर्ने दबाब स्वरुप ताप्लेजुङमा नमूना मतदान गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु र अखिल नेपाल महिला संघ ताप्लेजुङको संयुक्त आयोजनामा नमूना मतदान गरिएको हो । स्थानीय तहको निर्वाचन तुरुन्त गर, संविधान र लोकतन्त्रको रक्षा गर भन्ने नाराका साथ फुङलिङ बजारमा नमूना मतदान गरिएको हो । दबाबमूलक उक्त कार्यक्रममा नेकपा एमाले पार्टी तथा अनेरास्ववियु, युवा संघ, अनेमसंघका नेता कार्यकर्ताले सहभागिता जनाएका थिए ।