बराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिकाका शैक्षिक संस्था र धार्मिक क्षेत्रमको ५ सय मिटर वरिपरी मद्यपान र धुम्रपान जन्य पदार्थको बिक्रि बितरण गर्न निषेध गरिएको छ ।
वराहक्षेत्र नगरपालिकाले इलाका प्रहरी कार्यलय महेन्द्रनगर र महिला पुनस्र्थापना केन्द्र (ओरेक) नेपालको साझेदारीमा लागुपदार्थ दुव्र्यसनीलाई न्युनिकरण गरि सभ्य समाज निर्माण गर्ने उद्देश्यले बिद्यालयको वरिपरि चुरोट, रक्सी, खैनी, गुट्खा जस्ता धुम्रपान र मद्यपान सहित खुल्ला रुपमा माछा मासु बिक्रि बितरणमा निषेधित क्षेत्र घोषणा गरिएको हो ।
बिहिबार नगरपालिकाको धार्मिकक्षेत्र चतरामा एक औपचारिक कार्यक्रमको आयोजना गरि नगर प्रमुख निलम खनालले सुचना पार्टी अनावरण गरेर धुम्रपान, मद्यपान निषेधित क्षेत्र घोषणा गरेका हुन् ।
कार्यक्रममा जिल्ला प्रशाशन कार्यलय सुनसरीका प्रमुख इन्द्रदेव यादव, जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रमुख प्रहरी उपरिक्षक संजयसिह थापा लगाएत वराहक्षेत्रका जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, विभिन्न बिद्यालयका प्रध्यानाध्यापकहरु, शिक्षकहरु, बिद्यार्थीहरु, उद्योग बाणिज्य संघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
निषेधित क्षेत्र घोषणा पछि बिद्यार्थीहरुले लागूपदार्थ न्युनिकरण गरौ भन्दै नारा लगाएका थिए । वराहक्षेत्र नगरपालिकाका ८ वटा सामुदायीक बिद्यालय, १ संस्थागत बिद्यालय र धार्मिक क्षेत्रहरुमा बिद्यार्थीहरुले प्रभातफेरी समेत गरेका थिए । वराहक्षेत्र २ पुनरबास स्थित आदर्श माध्यमिक बिद्यालयबाट सुरु प्रभातफेरी हाटखोला, जागृत चौंक, मिलन टोल, वयरबन हुँदै बसपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा आदर्श माध्यमिक बिद्यालयका बिद्यार्थीहरुले लागू पदार्थ दुब्र्यसनी र लैङ्गिक हिँसा बिरुद्धको चेतनामुलक सडक नाटक समेत प्रस्तुति गरेका थिए ।