धरान/ घरेलु तीनपाने रक्सी र कालो बंगुरलाई धरानले ब्राण्डिङ गर्ने भएको छ । स्थानीय उत्पादन तीनपाने रक्सी र कालो बंगुरको बजारीकरणमा प्रवद्र्धन गर्दै जिवनस्तर उकास्ने योजनाहरु अघि सार्ने भएको छ ।
एक वर्ष अघि तीनपाने रक्सी र कालो बंगुरको प्रवद्र्धन गर्र्न अध्ययन कार्यदल गठन भएको थियो । कोरोनाका कारण कार्यदलको बैठक बस्न सकेको थिएन । धरान उपमहानगर नगर प्रमुख तिलक राईको उपस्थितिमा सोमबार बसेको कार्यदलको पहिलो बैठकले परम्परागत रुपमा उत्पादन गरिएका स्थानीय तीनपाने रक्सी र कालो बंगुरलाई प्रवद्र्धन गर्ने निर्णय गरेको हो । बैठकमा मेयर राईले तीनपाने रक्सीलाई गुणस्तरिय बनाउन सीप दिएर व्यवसायीकरण गर्न सके आत्मनिर्भर बनाउन सकिने बताए । तीनपाने रक्सी बनाउन प्रयोग गरिने कच्चापदार्थ मर्चालाई व्यवसायीकरण गर्न सकिने उनले बताए ।
धरान उपमहानगरपालिकाका सुचना अधिकृत समेत रहेका सदस्य सचिव खगेन्द्र खतिवडाका अनुसार तीनपाने रक्सी तथा कालो बंगुर प्रवद्र्धन गर्ने विषयमा धरानको वडा नं. ११, १६, १७, १८ र २० मा पहिलो चरणमा स्थलगत अध्ययन गर्ने, सचेतना कार्यक्रम गर्ने र त्यहाँ उत्पादन भईरहेको तीनपाने रक्सी उत्पादनको विद्यमान स्थितिको तथ्यांक संकलन गरि विश्लेषण गर्न केन्द्रिय प्रविधि क्याम्पस हात्तिसारलाई जिम्मेवारी दिईएको छ ।
तीनपाने रक्सीको प्रविधि, मापदण्ड र गुणस्तरको सम्बन्धमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय समेतको समन्वयमा केन्द्रिय प्रविधि क्याम्पस हात्तिसार मार्फत गरिने निर्णय भएको छ । बैठकले प्रचलनमा रहेको ऐन नियमको अध्ययन गरि तीनपाने रक्सी उत्पादन र व्यवस्थापन गर्ने बारेमा स्थानीय कानूनको मस्यौदा निर्माणको लागि धरान उपमहानगरपालिकाका कानूनी सल्लाहकारलाई अनुरोध गर्ने पनि निर्णय गरेको छ ।
नगर प्रमुखको नेतृत्वमा प्रदेश नं. १, सामाजिक विकास मन्त्रालय मार्फत मापदण्ड र कानून निर्माणको लागि पहल गरिने निर्णय भएको छ । यस्तै, घरेलु मदिराको रुपमा प्रयोग हुँदै आएको परम्परागत तीनपाने रक्सी र कालो बंगुर ब्राण्डिङ गर्नका लागि यसको आवश्यकता र औचित्यको बारेमा जानकारीमूलक लेख, रचना र अध्ययन सामग्री तयार गरि प्रचार प्रसार गर्ने समेत निर्णय गरिएको छ ।
गत वर्ष केन्द्रिय प्रविधि क्याम्पस हात्तिसारका प्राध्यापक बसन्त कुमार राईको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलमा केन्द्रिय प्रविधि क्याम्पसका पूर्व प्रमुख प्रा.डा. धनबहादुर कार्की, फुलमाया तामाङ, सदर राई, मोहन तिगेला सदस्य रहेका छन् भने खगेन्द्र खतिवडा सदस्य सचिव रहेका छन् । बैठकमा धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विदुर प्रसाद खनाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख राज कुमार रिजाल र खाद्य अनुसन्धान अधिकृत निरन कट्वालको पनि उपस्थिति थियो ।