इलाम/ नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनबाट इलाम जिल्ला सभापतिमा डम्बरबहादुर खड्का विजयी भएका छन् ।
प्रतिष्पर्धी भेषराज आचार्यलाई १ सय ६० को मतान्तरले पराजित गर्दै उनी विजयी बनेका हुन् । शनिबार साँझ निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार खड्काले ९ सय ३५ मत प्राप्त गरेका छन भने उनका प्रतिष्पर्धी आचार्यले ७ सय ७५ मत प्राप्त गरेका छन । एक हजार ७ सय ९५ मतदाता मध्ये शनिबार भएको निर्वाचनमा एक हजार ७ सय ३२ मत खसेको थियो । खड्का पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा निकट हुन् । आचार्य वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट सभापतिका उम्मेदवार बनेका थिए ।
अन्य पदाधिकारी र कार्यसमिति सदस्यमा भने मिश्रित परिणाम आएको छ । सात पदाधिकारीमध्ये खड्का समूहबाट सभापति सहित ३ र आचार्य समूहबाट ४ पदमा विजयी बनेपछि पदाधिकारीमा खड्का समूह अल्पतमतमा परेको छ । दुवै उपसभापति पदमा आचार्य समूहका उम्मेद्वार विजयी भएका छन् । आचार्य समूहबाट खगेन्द्र देवान ८ सय ७४ मत र विष्णुकुमारी लिम्बू दहालले ७ सय ७८ मतका साथ विजयी बनेका हुन । खड्का समूहका केदार थापाले ७ सय ४७ मत र होमप्रसाद दुलालले ६ सय ९९ मत पाएर पराजित बनेका छन ।
दुई सचिव पदमा दुवै समूहबाट एकएक जना विजयी बनेका छन् । सचिवमा आचार्य समूहका पूर्णप्रसाद गौतम ८ सय १९ मत र खड्का समूहका निरोज खड्की ७ सय ९३ मतका साथ विजयी बनका हुन । आचार्य समूहका विष्णु हेमकुमार कार्की ७ सय २२ मत र खड्का समूहका हुकुमलाल थेबेले ७ सय १५ मत पाएर पराजित बनेका छन ।
त्यस्तै दुई सहसचिव पदमा समेत दुवै समूहबाट एकएक जना विजयी बनेका छन् । सहसचिवमा खड्का समूहबाट डालाकुमारी कार्की ८ सय ६५ मत र आचार्य समूहका देवेन्द्रकुमार सुवेदी ७ सय ८१ मतका साथ विजयी बनेका छन । आचार्य समूहका चक्र एक्तेन (अभिषेक) ले ६ सय ५६ मत र प्रविना राईले ६ सय ३६ मत पाएर पराजित बनेका हुन । संस्थापन र इतरका २÷२ उम्मेदवार चर्चामा रहेपनि अन्तिममा संस्थापनका डम्बर खड्का र इतरबाट भेषराज आचार्य मात्र सभापति पदमा प्रतिष्पर्धा गरेका थिए ।
आर्चाय भन्दा कमजोर उपस्थिति रहेको खड्काले चारमध्ये दुईवटा समूहको समेत साथ पाएपछि जित निकाल्न् सफल भए । खड्कालाई संस्थापनकै पूर्वसभापति केशव थापा र इतरका निवर्तमान सभापति हिमालय कर्मचार्यले समर्थन गरेका थिए । पछिल्लो समय आचार्य पक्ष बलियो बन्दै गएपछि उनलाई एक्ल्याउन नयाँ समीकरण बनेको थियो । संघीय निर्वाचन क्षेत्रतर्फका दुवै क्षेत्रमा आचार्य पक्षका उम्मेदवारले सभापति जितेका थिए । प्रदेशसभाका ३ क्षेत्रमा आचार्य पक्षका र १ क्षेत्रमा मात्र खड्का समूहका सभापति चुनिएका थिए । नयाँ समिकरणमा जिल्लाका वर्तमान सभापति हिमालय कर्माचार्य र पूर्व सभापति केशव थापाले खड्कालाई सहयोग गरेका थिए । उनीहरुले साझा उम्मेद्वार बनाएर खड्कालाई जिताउन नेता कार्यकर्ताहरुलाई आह्वान समेत गरेका हुन ।
कर्माचार्य र थापाले आफू नेतृत्व हत्याउन नसक्ने अवस्था आएपछि अर्को गुटलाई समर्थन गरेका हुन । थापा र खड्का देउवा निकट छन भने कर्मचार्य र भेषराज आचार्य पौडेल निकट मानिन्छन । तर कर्मचार्य र आचार्य पौडेल निकट भएपनि इलाममा कर्मचार्यले देउवा निकट खड्कालाई समर्थन गरेका थिए ।