धरान । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर १ को सभापतिमा पौडेल–कोइराला पक्षका सुजेन्द्र तामाङको प्यानलै विजयी भएको छ ।
देउवा पक्षबाट सभापतिको उम्मेदवार बनेका धरान उपमहानगरपालिकाका मेयर समेत रहेका तिलक राई अन्तिम समयमा ब्याक भए पछि मनोनयन गर्ने दिन नै उम्मेदवार घोषणा गरेकी महिला नेतृ लक्ष्मी खतिवडालाई १ सय ७८ मतले हराएका छन् ।
धरान ८ स्थित सभागृहमा भएको मतगणनामा खतिवडाले २ सय १५ मत ल्याउँदा तामाङले ३ सय ९३ मत ल्याएर विजयी भएका छन् ।
त्यसै गरि तामाङ समुहबाट सचिवका उम्मेदवारद्वय केशव पुरीले ३ सय २१, महेन्द्र प्रधानले ३ सय ६४ मत ल्याएका छन् । यता देउवा पक्षका सचिवका उम्मेदवार जय बहादुर लिम्बु र देबे न्द्र बहादुर लिम्बुले क्रमशः १ सय ७२ र २ सय ९४ मत ल्याएका थिए ।
यता तामाङ समुहबाट सहसचिव पदका उम्मेदवार भोज कुमार न्यौपानेले ३ सय ७२, सुमित राईले ३ सय ८२ मत ल्याई विजयी भएका छन् । खतिवडा पक्षका सहसचिव पदका उम्मेदवार नारद राई र नविन प्रसाद ढकालले २ सय ७ र १ सय ६१ मत प्राप्त गरेका छन् ।
सभापतिमा निर्वाचित सुजेन्द्र तामाङका अनुसार उपसभापतिमा प्रदेश सभाका क र ख तर्फका सभापतिका विजयी उम्मेदवार हुनेछन् । जस मध्ये गत शनिबार भएको प्रदेश सभा क र ख तर्फ तामाङ समुहबाटै अनिल श्रेष्ठ र मुरारी भट्टराई निर्वाचित भइसकेका छन् ।
क्षेत्रीय सभापतिका लागि भएको मतदानमा निर्वाचन अधिकृत इन्द्रमोहन झाका अनुसार सुनसरी क्षेत्र नम्बर १ मा ६ सय ३२ जनामध्ये ६ सय १९ मत खसेको थियो ।