धरान । नेपाली कांग्रेसको प्रदेशसभा सुनसरी १ (क) र (ख) मा क्षेत्र नम्बर १ का सभापतिका उम्मेदवार सुजेन्द्र तामाङ समुहका उम्मेदवारको प्यानलनै विजयी भएका छन् ।
सुनसरी क्षेत्र नम्बर १ (क) तर्फका सभापतिका उम्मेदवार अनिल श्रेष्ठ र (ख) तर्फ मुरारी भट्टराई विजयी भएका हुन् । प्रदेशसभा (क) र (ख) दुवैमा कोइराला–पौडेल पक्षधर मानिएका अनिल श्रेष्ठ र मुरारी भट्टराईको प्यानलै विजयी बनेको हो । ‘क’ तर्फ अनिल श्रेष्ठले प्रतिद्वन्दी मदन ढकाललाई १ सय ७२ मतले पछाडि पार्दै जित हात पारेका छन् भने ‘ख’ तर्फ मुरारी भट्टराईले प्रतिद्वन्दी अजय राईलाई ३१ मतले हराउँदै सभापतिमा विजयी भएका छन् ।
प्रदेशसभा (क) को धरान–८ स्थित सभागृहमा सम्पन्न निर्वाचनमा श्रेष्ठले २ सय ६८ मत प्राप्त गर्दा ढकालले ९६ मत प्राप्त गरेका छन् । उपसभापतिमा प्रदीप शाक्य २ सय ३७ र झुमा राईले २ सय ८१ मत ल्याउँदै निर्वाचित भए भने उनीहरुका प्रतिद्वन्दी कुमार मोक्तानले ९० र मनोजकुमार सुब्बाले ९७ मत मात्रै प्राप्त गरे ।
सचिवमा युवराज शंकर २ सय ८० र राजेन्द्र राईले २ सय ४४ मत ल्याउँदै विजयी भए । यता ढकाल समुहका सचिव पदका उम्मेदवार राजेन्द्रकुमार राईले ९९ र सुनिलचन्द्र श्रेष्ठले ९१ मत प्राप्त गरे । सहसचिवमा हरिप्रसाद ओझाले २ सय १८ र रमिता श्रेष्ठले २ सय ५६ मत प्राप्त गर्दै विजयी बनेका छन् भने कमल भट्टराईले १ सय र विष्णुमाया मोक्तानले १ सय १२ मत प्राप्त गरे ।
यता ‘ख’ तर्फ भट्टराईले १ सय ३९ मत पाउँदा राईले १ सय ८ मत पाएका थिए । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा भएको ख तर्फको निर्वाचनमा भट्टराई प्यानलका चन्द्रबहादुर मगर अनिलले १ सय ५५ मत र डिल्लीसेर राईले १ सय ३० मत ल्याएर विजयी भएका छन् । उपसभापतिमा राई प्यानलका सन्देश श्रेष्ठले ९२ र अमृतबहादुर खड्काले ८२ मत पाएका थिए ।
यस्तै, सचिवमा भट्टराई प्यानलका राजेन्द्र खड्काले १ सय ४४ र विजय घिमिरेले १ सय ४३ मत ल्याए भने राई प्यानलका संगीता राईले १ सय २० र सुरजप्रसाद अधिकारीले ६३ मत पाएका थिए । सहसचिवमा भट्टराई प्यानलका रोहित काफ्लेले १ सय ५१ र मञ्जु राईले १ सय ४४ मत पाएर विजयी भएका छन् ।