प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्राप्त गरे विश्वासको मत

  • मंसिर १, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत प्राप्त गरेका छन् ।
प्रदेश सभाको बुधबारको बैठकमा संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत माग्दै प्रस्ताव टेबुल गरेका थिए ।
उनको प्रस्तावमा सभामुख प्रदिपकुमार भण्डारीले मत विभाजन गराएका हुन । सांसदले नामसहितको दस्तखत गराएर गरिएको मत विभाजनअनुसार राईको पक्षमा ५० सांसदले मत दिएका छन् । यसैगरी उनलाई विश्वास छैन भन्नेतर्फ जम्मा २९ मत परेको छ ।

राई २०७८ कात्तिक १६ गते पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री नियुक्त भई पाँच सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । गठबन्धन दलमा कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा(एस), जसपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च छन् । प्रमुख विपक्षीमा एमाले र विपक्षीमा राप्रपा छन् ।

प्रदेश सभा बैठकमा विश्वासको मत दिन प्रस्ताव राख्दै राईले विशिष्ट राजनीतिक परिस्थिति उत्पन्न भएपछि नयाँ सरकार गठन हुन पुगेको बताए । उनले केही समय अगाडि मुलुकको परिवर्तन र संविधानलाई कमजोर गर्ने प्रयत्न भएको र त्यसको पक्ष विपक्षमा राजनीतिक दलहरु विभाजित भएको जिकिर गरे । भने,“यो सरकार परिवर्तनको बाहक भएकोले सबैले समर्थन गर्नु हुनेछ भन्ने मेरो विश्वास छ ।”

सभामुख प्रदिपकुमार भण्डारीले मुख्यमन्त्री तथा मन्त्रीहरु नियुक्त भएको प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त भएको पत्र पढेर सुनाएका थिए । सभामुख भण्डारीले प्रदेश सभाको विश्वास छ भन्ने प्रस्ट गर्न मन्तव्यसहित आफ्नो प्रस्ताव राख्न मुख्यमन्त्री राईलाई समय दिए ।

पूर्ववर्ती सरकार संविधान सम्मत ढंगले गठन हुन नसकेको र संविधानका धारा उलंघन गर्दै गएको आरोप लगाउँदै राईले सहमितको लागि त्यो सरकारलाई समर्थन गर्न नसकिएको सुनाए ।
नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजिव कोइरालाले सातै प्रदेशमा किन सरकारहरु परिवर्तनहरु भए भन्ने जनता जानकार भएको बताए ।

उनले वि.सं २००३ सालदेखि नै प्रजातान्त्रिक आन्दोलन भएको तर त्यहीअनुरुप उपलब्धी प्राप्त भएपनि रक्षा गर्न जहिल्यै हम्मेहम्मे भएको बताए । प्रदेश सभाको बुधबारको बैठकमा बोल्दै कोइरालाले भने,“अब त चेत खुल्यो होला भनेको तर चेत त जहींको त्यहीं रहेछ । खाली संघीय लोकतान्त्रिक गणतन्त्र मात्र घोषणा भएको रहेछ । के कारणले मुलुकमा समस्या आईरहन्छ ? संविधान रक्षाको लागि सातै प्रदेश र केन्द्रमा गठबन्धन बनेको हो ।” कोइरालाले दलहरु संविधान र प्रजातन्त्रको जर्गेनको खातिर जहिल्यै एकै ठाउँमा रहेको स्पष्ट गरे ।

उनले जनादेश विपक्षमै बस्न भनेर दिएपनि अहिलेको परिस्थित केपी ओलीकै कारण आएको भन्दै उनले गठबन्धन अगाडि बढ्ने बताए । “त्यति सजिलै संसद विघटन गर्ने प्रावधान थिएन, गणतन्त्रसंगै सुधारिएको बहुलवाद हो । संयुक्त आन्दोलनले वहुदलीय व्यवस्थामा भएका त्रुटि सच्याउनकै लागि गणतन्त्र ल्याएको थियो,” उनले भने, “संसदलाई विसंगतिबाट बचाउनको लागि नै संविधान निर्माण गरिएको थियो । तर, पटक पटक विघटन गरियो । दुूई पटक विघटन र दुई पटक पुर्नस्थापित भयो त्यसलाई दलले प्रतिगमन भनेर बुझेको छ ।” कोइरालाले मुख्यमन्त्री राजेन्द्र राईको पक्षमा मतदान गर्न सांसदहरुलाई आग्रह गरे ।

प्रमुख विपक्षी एमालेका सांसद हिक्मत कार्कीले सांसदलाई अड्याउन नसक्ने र होटल खर्च बढ्ने देखिएर मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिन हतारिएको आरोप लगाए ।
प्रदेश सभा बैठकमा बोल्दै कार्कीले आफूलाई लोकतन्त्रको नायक भन्ने कांग्रेस र भर्खर बनेका दलले समेत त्यस्तै चरित्र देखाएको बताए । उनले भने,“पार्टी विभाजन गर्न बीस प्रतिशत भए पुग्ने भनेर अध्यादेश ल्याउनेले त्यसलाई कानुन बनाउन सदनमा ल्याए हुन्छ । कानुन बनाएर अगाडि ल्याउन तयार हुनुहोस । किन एमाले विभाजन भएपछि अध्यादेश फिर्ता गरियो ?” कार्कीले आफ्नै पार्टीको अधिवेशन समयमै गर्न नसक्ने दलबाट धेरै अपेक्षा गर्न नसकिने बताए ।

कार्कीले राजनीतिक दल सम्बन्धी व्यवस्था गर्ने कानुनले जे व्यवस्था गरेको थियो त्यस विपरीत काम भएको आरोप लगाए । दशैंपछि झन्डा हल्लाएर दशैंमा ससुराली जाने जस्ता गैर राजनीतिक शब्द प्रहार भएको र एमालेमाथि पनि त्यस्तै प्रहार भएको भन्दै उनले पुरा अवधिको सरकार चलाएर देखाउन आग्रह गरे ।

राजनीतिक र आउँदो चुनावसम्म पनि एमाले चुनावी प्रतिस्पर्धाको लागि तयार भएको बताउँदै भने,“नेपाली कांग्रेसको विषयमा बुझ्न सकिएको छैन । २०७४ मा कांग्रेस हारेको मात्र थियो तर अहिले कांग्रेसको सातो गएको हो कि ? उपचार नै गर्नुपर्छ कि भन्ने भएको छ ।” लोकतन्त्रको रक्षार्थ कांग्रेस कमजोर भएको भन्दै उनले सुदृढ र बलियो हुन सुझाव दिए ।

सुच्चा राईको कुल पूज ...

धरान/  किरात राई समुदायले वैशाख पूर्णिमादेखि ...

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved