विराटनगर । मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिदैछन् । उनलाई विश्वासको मत दिनेमा गठबन्धनको निर्णय भएको छ ।
प्रदेश राजधानी विराटनगर स्थित बिग होटलमा गठबन्धनका पाँच दलका सांसद भेला भई गरेको छलफलले गठबन्धन पार्टीका सबै सांसदले विश्वासको मत दिने निर्णय गरेको हो । गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एस), जनता समाजवादी पार्टी (जसपा) र संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका सांसद बिच छलफल भएको थियो ।
मुख्यमन्त्री राईले विश्वासको मत लिन प्रदेश सभा सचिवालयमा आइतबार सूचना दर्ता गराएका थिए । सो सम्बन्धी प्रस्तावमा मंगलबारको बैठकमा मत विभाजन हुने तयारी भएको छ । छलफलमा मुख्यमन्त्री राईलाई गठबन्धनका तर्फबाट विश्वासको मत दिने निर्णय भएको छ ।
प्रदेश सभास्थित दलको कार्यालयमा सोमबार नै नेपाली कांग्रेस संसदीय दलको बैठक बसेर मुख्यमन्त्री राईलाई विश्वासको मत दिने निर्णय गरेको छ । कांग्रेस सांसद तथा सार्वजनिक लेखा समितिका सभापति शिवनारायण सिंह गन्गाईले मंगलबारको बैठकमा मुख्यमन्त्री राईलाई विश्वासको मत दिने निर्णय भएको जानकारी दिदैं उनले भने, “गठबन्धनको छलफलमा पनि सबै दलका तर्फबाट मुख्यमन्त्री राईलाई विश्वासको मत दिने निर्णय भएको छ ।”
कात्तिक १५ गते मख्यमन्त्री राईले शपथ लिएका थिए । नेकपा एमाले विभाजन भई अल्पमतमा परेपछि भीम आचार्यले राजिनामा दिएका थिए । गठबन्धनका तर्फबाट सरकार संचालनमा दाबी पेश गरिएको थियो । प्रदेश १ मा नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा (एस), जसपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मंचको गठबन्धनको सरकार बनेको छ । प्रदेश सभामा विश्वासको मत लिन ४७ मत चाहिन्छ । गठबन्धनसँग ५० सांसद छन् ।