बराहक्षेत्र /नेपाली नागरिकता भए पनि राज्यले शरणार्थीलाई जस्तो व्यवहार गरेको सुनसरीको श्रीलंका टप्पुवासीले गुनासो गरेका छन् । देशकै मरुभुमिको रुपमा रहेको श्रीलंका टप्पुवासीले राज्यको कुनै संयन्त्रले पनि नहेरेको गुनासारे गरेका हुन् ।
देशमा तीन तहको सरकार भएको अनुभुती अहिले सम्म गर्न नसकेको दुखेसो गर्दै उनीहरुले निर्वाचनको समयमा मात्रै राज्यको रहेको महशुष गराए पनि अन्य समय शरणार्थीलाई झै व्यवहार गर्ने गरेको स्थानीयको गुनासो छ ।
श्रीलंका टप्पुवासीको सदैव पिर सप्तकोशी नदीको कटान हो । प्रत्येक निर्वाचनमा राजनितिक दलहरुले कटान रोक्ने आश्वासन दिए तर निर्वाचन पछि कसैले पनि कटान नियन्त्रणलाई चासो दिएका छैनन् । केही बर्षदेखि सप्तकोशी नदीमा आएको बाढीले सुनसरीको पश्चिम भूभागमा पर्ने टप्पु क्षेत्रमा रहेको बस्ति रहेको भुभाग तीब्र कटान गरिरहेको छ । पूर्वी पहाडी जिल्लाहरुमा लगातार पानी पर्न थाले पछि सप्तकोशीमा आएको बाढीले सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ र ९ को श्रीलंका टापुमा केही बर्षदेखि कटान गरिरहेको छ ।
तर राज्यको कुनै संरचनाले कटान नियन्त्रण गर्ने प्रयास सम्म गरेका छैनन् । पूर्वी तटबन्धमा बगिरहेको सप्तकोशी पश्चिमतर्फ फर्किए पछि उनीहरुलाई बस्ति जोगाउनै समस्या पर्न थालेको छ । भारतको बिहार सरकारले पूर्वी तटबन्ध निर्माणको काम गरेपछि कोशीले पश्चिमतर्फ धार परिवर्तन गर्न थालेको स्थानीयको आरोप छ ।
भारतले पश्चिमतर्फ तटबन्ध निर्माण नगर्दा बाढीले कोशीटप्पुको बर्षेनी हजारौं बिघा जमिन कटान गरेको छ । सप्तकोशीको बाढीले जमिन कटान गर्दै बीचमा रहेको श्रीलंका टापुको बस्ती नजिक आएपछि स्थानीय त्रसित हुने गरेको वडा नं ६ का वडा सदस्य श्याम लिम्बू बताउँछन् । सप्तकोशीको बाढीले पश्चिमतर्फको भू–भाग कटान गर्दा श्रीलंका टापुका ५ सय घरपरिवार बाढीको उच्च जोखिममा परेको लिम्बुको भनाई छ ।
उनले भने, ‘सप्तकोशीले पश्चिमतर्फको श्रीलंका टापु आसपासका क्षेत्रमा नौ किलोमिटर लम्बाई र एक किलोमिटर चौडाई कटान गर्दा २ हजार ५ सय बिघा खेतियोग्य जमिन गुमाउनु परेको छ ।’ नदीको बाढी बस्ती नजिक आएपछि सप्तकोशीको बीचमा रहेको श्रीलंका टापुका ५ हजारभन्दा बढी सर्वसाधारण विस्थापित हुने अवस्था रहेकाले तत्काल कोशी कटान नियन्त्रणको काम थाल्न लिम्बुले सरकारसंग आग्रह गरेका छन् ।
अहिले स्थानीयहरु “हे सरकार हाम्रो समस्या बुझि देऊ” नारा लगाउँदै बस्ती बचाउँ अभियानमा लागेका छन् । वर्षनी ६÷७ मिटर कोशीले पुर्वबाट कटान गरे पछि स्थानीयले सप्तकोशी कटान नियन्त्रण संघर्ष समिति नै गठन गरेका छन् । २ बर्ष अगाडि नै गठन भएको समितिका सचिब गिरिराज बिश्वकर्माका अनुसार कोशीटप्पुका जनता जनतानै नभए जस्तो गरि सरकारले नहेरेको आरोप लगाए ।
टापुबासीलाई पनि नेपाली नागरिकको रुपमा ब्यहार गरि संबिधान उल्लेखित नेपालीहरुको मौलिक हक गाँस, बाँस, कपास र सुरक्षाको प्रत्याभुति गराउन माग समेत उनले गरे । उनले भने, ‘बर्षमा १२ महिना नै जंगली जनबारको त्रास उतिकै छ, हामीलाई जनता होइन भनेर वास्ता नगरेर अपहेलना गरेको हो भन्ने हाम्रो भोटले धेरै नेता मन्त्री भए पनि प्रधानमन्त्री पनि एक पल्ट हैन पटक पटक भइसकेका छन्, तर हाम्रो पिडा अन्त्य हैन थपिएको थपिएकै छ ।’
बर्षनी ६ देखि ७ मिटर कोशीले पश्चिम भूभागमा कटान गरिरहेको छ । बर्षेनी सयौ घर बिस्ताबित भइरहेका छन् भने सयौ हेक्टर जमिन कटान भइरहेको संघर्ष समितिका अध्यक्ष मिश्रीलाल महत्तो बताउँछन । उनी भन्छन्, ‘सप्तकोशीको आतंकमा हामि छौ, सरकारलाई पटक पटक हाम्रो पिडा राख्दा पनि बास्ता गरेको छैन् ।’
२०३८÷०३९ साल तिर सप्तकोशीले धार परिवर्तन गरेपछि कोशीटप्पु बस्ति बनेको हो । सो क्षेत्रमा भारत सरकारले कोशीको पुर्व तर्फ पाइलट च्यानलको नाममा आफुखुसि नियन्त्रण गर्दा पश्चिम तर्फ कटान गरेको स्थानीयबासी गोपाल मगरको भनाई छ । भारत सरकारको मिचाहा प्रवृतिमा नेपाल सरकारले बेवास्ता गर्दा देश भित्रै दोस्रो दर्जाको नागरिक सरह जिवन निर्वाह गर्नु परेको उनले बताए । उनले भने, ‘अहिले बगिरहेको कोशी २ सय मिटर टाढा थियो, यस बर्षको बर्खामा २ सय मिटर कोशीले जमिन कटान गर्दा सयौं घरलाई बिस्ताबित बनायो, अब बिद्यालय पनि कोशीको निसानीमा परि सक्यो, सरकारले ठोस योजना अगाडि नसारे आगामी बर्खामा बराहक्षेत्र ६ र ९ का बिद्यालय सहित अन्य बस्तीका ६÷७ सय घर तथा उदयपुर र सप्तरी जिल्लाका सयौ बस्ति बगर हुदा हजारौ परिबारहरु बिस्तापित हुन्छन् ।’