कांग्रेस महाधिवेशनको रन्को : आकांक्षी उमेदवार मत माग्न व्यस्त

  • असार २१, २०७८
  • कुमार लुइँटेल
alt फाइल फोटो: मोरङ कांग्रेसले आयोजना गरेको कार्यक्रमका सहभागी ।

विराटनगर । केन्द्रमा चुनावी तालमेलका लागि मोर्चा कस्न नेताहरु ‘लन्च मिटिङ’मा व्यस्त भईरहँदा प्रदेश र जिल्ला तहमा पनि कांग्रेसको चुनावी माहोल तात्न थालेको छ ।

क्रियाशील सदस्यता सम्बन्धी विवाद नदेखिएका प्रदेश १ का कतिपय जिल्लाहरुमा नेतृत्वमा पुग्ने आकांक्षीहरुले भेटघाट गर्नेदेखि आफू चुनावमा उठ्नेसम्म बताउँदै मत माग्न थालेका छन् । कांग्रेसको वडादेखि प्रदेशसम्मको अधिवेशन र केन्द्रीय महाधिवेशनको विषयमा उमेदवार अनि कार्यकर्ता पंक्तिमा छलफल, भेटघाट र चुनावी जोडघटाउ शुरु भएका छन् । भर्चुअल र भौतिक भेटघाटसहितका छलफलले अधिवेशनको रन्को लाग्न शुरु भएको देखिएको छ ।

राजनीतिक हिसाबले निक्कै महत्व राख्ने १ मा जिल्लादेखि प्रदेश तथा केन्द्रसम्मको नेतृत्वमा पुग्ने होडमा नेताहरुमा अग्रसर भएका छन् । कतिपयले औपचारिक रुपमा आफू उमेदवार बन्ने जनाउ दिएर मतसमेत माग्न शुरु गरेका छन् । कतिपय सरसल्लाहमा व्यस्त देखिएका छन् । यद्धपि कतिपय नेताहरुले खुलेरै आफू उम्मेवदार बन्ने घोषणा नगरेपनि आफ्नो समूहमा लविङ शुरु गरिसकेका छन् । तर, केन्द्रीय समितिमा उठ्ने समूहको टुंगो नभईसक्दासम्म तल को को उमेदवार बन्ने तय नभएपनि तयारी भने शुरु भएको हो ।

नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूले जिल्लामा क्रियाशील सदस्यता वितरणको विषयमा खासै विवाद नहरेको तर देखिएकामा निरुपण गर्ने बताउँदै भने, “केन्द्रमा लिस्ट गईसककोले टुंगो लाग्ने अवस्थामा छ ।” सभापति लिम्बूले पार्टीमा नेतृत्वको लागि अधिवेशनको पर्खाईमा नेतृत्व र कार्यकर्ता पंक्तिमा ठूलो उत्साह देखिएको सुनाए ।

प्रदेश १ सभापतिमा कोइरालाको दाबी
कांग्रेस प्रदेश १ को सभापति पदमा नेपाल विद्यार्थी संघमा लामो समयसम्म काम गरेका युवा नेता बासु कोइरालाले उमेदवारी दिने भएका छन् । कोइराला नेविसंघको केन्द्रीय उपसभापति, त्रिभुवन विश्व विद्यालय महेन्द्र मोरङ क्याम्पसको स्ववियू सचिव र पटक पटक कांग्रेस महासमिति सदस्य भएर काम गरिसकेका नेता हुन । उनी युवा जमात र अग्रजहरुबीच पनि शालिन तथा भद्र नेताको रुपमा परिचित छन् ।

मोरङ सुन्दरहरैंचाका स्थायी बासिन्दा कोइराला विराटनगरलाई केन्द्र बनाएर राजनीतिक गरिरहेका नेता हुन । उनी केन्द्रीय राजनीतिमा समेत जान सक्ने क्षमता भएका नेता मानिन्छन । कोइराला भन्छन्, “समयको आवश्यकता अनुसार मैले प्रदेश १ को नेतृत्व लिनको लागि तयारी शुरु गरेको छु ।” कोइरालाले अघिल्लो कांग्रेस महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उमेदवारी दिएका थिए । प्रदेश सभापतिको नेतृत्वमा गई आफू प्रदेशमा प्राप्त अधिकारलाई स्थापित गराउन केन्द्रीत हुने उनले बताए । कोइराला आन्दोलनका क्रममा ६ महिना जेल पनि बसेका छन् । हाल उनी त्रिभुवन विश्व विद्यालयबाट सोसल वर्क विषयमा पिएचडी गरिरहेका छन् ।

मोरङमा सभापतिका आकांक्षीको लाइन

कांग्रेस महाधिवेशन भदौ १७ देखि १९ गतेसम्म काठामाडौमा हुने तय भएको छ । असार २० गतेभित्रमा क्रियाशील सदस्यताको टुंगो लगाउने पार्टीको तयारी छ । वडा, गाउँ, नगर, प्रदेश निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश समितिको निर्वाचनपछि केन्द्रीय महाधिवेशन हुनेछ । मोरङमा यो पटक १४ हजार ५ सय नयाँ क्रियाशील सदस्य थपिने छन् । पुराना १६ हजार २ सय ५५ गरी अब कूल क्रियाशीलको संख्या ३० हजार पुग्नेछ ।

मोरङ कांग्रेसका सचिव नागेश कोइरालाले मोरङको कतिपय स्थानमा देखिएको क्रियाशील सम्बन्धी विवादको निरुपण गर्न आफूहरु काठमाडौमा रहेको जानकारी दिदैं भने, “यस विषयमा केन्द्रसँग छलफल शुरु गरिसकेका छौं । टुंगो लाग्ने क्रममा पुगेको छ ।” उनले विवादलाई साम्य गरेर सबै सदस्यता टुंगो लगाइने जानकारी दिएका छन् । कोइराला आफू सभापतिको नेतृत्व लिन तयारीमा लागेको बताउँदै अधिवेशनको दिन नजिकिंदै जाँदा तयारी पनि शुरु गर्न थालेको सुनाए । कांग्रेसको चुनावलाई लिएर वडादेखि प्रदेश र माथि केन्द्रमा जाने नेतादेखि मत खसाल्ने मतदातासम्ममा ठूलो उत्साह शुरु भएको कोइरालाको भनाई छ ।

अधिवेशनको कार्यतालिका अनुसार साउन १२ गते वडा, १६ गते नगरपालिका र गाउँपालिका, २० संसदीय निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रको २३ गते चुनाव हुनेछ । यसैगरी जिल्लाको साउन २६ गतेको लागि तय भएको छ । प्रदेश १ को भदौ १ र २ गते चुनाव हुनेछ ।

मोरङमा कांग्रेसको नेतृत्व लिन वर्तमान सभापति डिगबहादुर लिम्बू, सचिव नागेश कोइराला, पूर्वसचिव मदन संग्रौला, यदु विष्ट, राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझी, पूर्वमन्त्री दिलिप गच्छदार, गोपाल राजभण्डारी लगायतको दौडधुप शुरु भएको छ । उमेदवारको रुपमा चर्चामा रहेका नेताहरुले चुनावी अभियानलाई तीव्रता दिन शुरु गर्नुका साथै आफू समर्थकहरुसंग छलफल गर्न शुरु गरेका छन ।

पार्टीका पूर्वसचिव यदु विष्टले अब सभापतिमा उमेदवारी दिन तयारी थालेको बताए । आफूले सचिवको रुपमा पार्टीमा काम गरिसकेको, संगठन परिचालन र कार्यकर्तासंगको निकटताको कारण पनि आफू सभापतिको लागि योग्य रहेको सुनाउँदै भने, “जिल्लाको नेतृत्व लिएर पार्टीलाई थप उर्जासाथ अगाडि बढाउने मेरो योजना छ, मूल्य, मान्यता र निष्ठाको राजनीतिक चरित्र स्थापित गराउनको लागि मेरो उमेदवारी रहने छ ।” विष्टले बद्लिएको राजनीतिक परिवेशमा कांग्रेसलाई युवा नेतृत्वको खाँचो रहेकोले आफू योग्य उमेदवार भएको दाबी गरे । वर्तमान सभापति लिम्बूलाई सभापतिको प्रबल दाबेदारको रुपमा हेरिए पनि उनी खुलिसकेका भने छैनन् ।

इलाम-२ उपनिर्वाचन: ए ...

इलाम/ प्रतिनिधिसभा क्षेत्र नंं.२ को उपनिर्वाचनको मतदान ...

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved