मोरङबाट एउटा डरलाग्दो समाचार बाहिर आएको छ । यही असार १ गते मोरङको कानेपोखरी– ५ को चिसाङ बस्तीकी २५ वर्षीया सोना भनिने डुकादेवी दर्जी तामाङलाई छिमेकीहरूले मरणासन्न हुने गरी कुटपिट गरेको घटना अहिले चर्चाको विषय बनेको छ । कथित सानो जात भएकै कारण उनीमाथि गरिएको कुटपिट मानवताविरुद्धकै अपराध हो । यस्तो जघन्य अपराध एक्काईसौँ शताब्दीको सभ्य भनिने समाजको अनुहारमा कलङ्कको कालो टीका हो ।
गरिब तथा विपन्न दलित समुदायकी सोनालाई छिमेकीहरू चन्द्रमाया (विन्दा) मगर, पुष्पा मगर र नीरमाया मगरले कुटपिट गरी खोलामा फालिदिएको समाचार आएको छ । उनीहरूले त्यसअगि पनि जातीय आधारमा पटक–पटक गालीगलौज गर्ने गरेको बताइएको छ । दुई महिनाकी गर्भवतीसमेत रहेकी उनलाई मगर परिवारले टाउकोसहित शरीरका विभिन्न भागमा कुटपिट गरेका कारण उनले मानसिक सन्तुलन गुमाएकी छन् । यो अत्यन्तै बर्बर अपराध हो । गाउँलेबाट जानकारी पाएपछि उनलाई उद्धार गएिको थियो ।
जात, धर्म वा लिङ्गका आधारमा गरिने कुनै पनि भेदभाव कानुनी आधारमा दण्डनीय मानिन्छ । कानुनको दृष्टिमा हरेक नागरिक समान हुन्छ । जातीय भेदभाव कानुनी रूपमा वर्जित र दण्डनीय छ । जातीय विभेद वा छुवाछुतलाई कानुनी रूपमा दण्डनीय बनाइए पनि हाम्रो समाजलाई यो गलत प्रवृत्तिले अभैm छाड्न सकेको छैन । दलित समुदायका विपन्न नागरिकहरू अहिले पनि जातीय आधारमै भेदभाव र छुवाछुत भोग्न बाध्य छन् । जातीय आधारमा गालीगलौज र छुवाछुतका साथै कुटपिट र हत्यासम्मका घटना भइरहेका छन् ।
देशका विभिन्न भागबाट यस्ता समाचारहरू बेलाबेलामा आइरहेकै छन् । यो विडम्बनाको विषय हो । यसभन्दा विडम्बनाको विषय त अधिकांश दोषीहरूले उन्मुक्ति पाइरहेका छन् । दोषीमाथि कारवाही हुन नसक्नु हाम्रो कानुन व्यवस्थाकै कमजोरी हो । यसले हाम्रो कानुन व्यवस्था कमजोर र फितलो रहेको प्रस्ट हुन्छ । कतिपय अवस्थामा त दोषीहरूले प्रहरी–प्रशासन र राजनीतिक संरक्षण पाइरहेका हुन्छन् ।
यस्तो अवस्था हाम्रो शासन व्यवस्था र कानुनको कुरूप अनुहार देखाउन पर्याप्त छ । यस्तो अवस्थामा परिवर्तन हुनु आवश्यक छ । जातकै कारणले घृणा र गालीगलौज सहनुपर्ने, कुटपिटको सिकार हुनुपर्ने र कहिलेकाहीँ वीभत्स मृत्युको अवस्थासम्म पुग्नुपर्ने अवस्था सामान्य होइन । यो हाम्रो समाज र समग्र मानव जातिकै अनुहारमा लागेको कालो दाग हो । यो दागलाई पखाल्नु आवश्यक छ ।
यसका लागि दोषीमाथि कानुनी कारवाही अपरिहार्य छ । दोषीले बारम्बार उन्मुक्ति पाएकै कारण उनीहरूको मनोबल बढेको हो । दण्डहीनताले समाजमा कानुनहीनताको अवस्थाको सिर्जना हुन्छ । त्यसैले दोषीमाथि तत्काल कारवाही हुनुपर्छ । स्थानीय, प्रहरी–प्रशासन र जनप्रतिनिधिले पीडितलाई न्याय दिलाउनुभन्दा भित्रभित्रै घटना मिलाउने प्रवृत्तिले परिस्थिति अझ भयावह हुँदै जाँदैछ । स्थानीय, प्रहरी–प्रशासन र जनप्रतिनिधिले दोषीलाई मुक्ति दिने होइन, कानुनी सजायका लागि एकअर्कालाई सहयोग गर्ने भूमिका खेल्नुपर्छ ।
त्यसो त यसको अर्को पाटो पनि छ । हाम्रो समाजमा शताब्दीयौँदेखि जरा गाडेर बसेको धार्मिक अन्धविश्वास र कुसंस्कार यसको जरा हो । यो जरालाई उखेल्नु आवश्यक छ । यसका लागि उच्च भनिने जातका मानिसको मानसिकतामा परिवर्तन अपेक्षित छ । मानसिकतामा परिवर्तनका लागि चेतना आवश्यक छ । यसतर्पm सबैको चासो र सरोकार केन्द्रित हुनुपर्छ । सरकारका साथै समाजका विभिन्न क्षेत्रका अगुवाहरूको सामूहिक प्रयासबाट मात्र यो सम्भव छ । यसतर्पm समाजका अगुवाहरूको सकारात्मक पहल अपेक्षित छ ।
कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००
अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना
Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved