विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठकको शुन्य समयमा बोल्ने सांसदहरुले विकासलाई जनआकांक्षासंग जोड्न माग गरेका छन् । उनीहरुले माटो बेचेर व्यापार गर्ने सरकारको योजनाविरुद्ध माटो बचाउन अभियान चलाउनु पर्नेमा जोड दिएका छन् ।
सांसद कृष्णकुमारी राईले संविधानले हरेक नागरिकलाई आवासको व्यवस्था गरिने उल्लेख गरेको र कसैको उठाइने छैन भनेपनि २०३६ सालदेखि बसेको मानिसलाई झापाको दमक नगरपालिकाले उठाएको भन्दै उनीहरुको व्यवस्थापन गर्न माग गरिन । “के त्यो नियमसंगत भयो त ?
कानुन हामीले बनाउने होइन ? के जनताले हामीलाई सरकामा पठाएको होइन ? अनि जनताको घर र बसोबास उठाउने कानुन हामीले बनाउने हो ?,” राईले भनिन्,“२०४३ सालमा दमक जाँदा त्यहाँ बस्ती थियो र अहिले उनीहरुको त्यो बस्ती उठेको छ । सरकारको धारणा आउनु पर्छ । दमक नगरपालिकाले नमूना बस्ती बनाएको रहेछ । दुई वटा एउटा खोलाको बाँध बाहिर र बाँध भित्र बनाएको छ । त्यो बस्तीमा लास आउँछ । मान्छे पोल्ने ठाउँमा कसरी बस्न सक्छन् ? बाँच्ने आधार के हो ?
सांसद विद्यानन्द चौधरीले घिनाघाट–विराटचौक सडक अनि रंगेली–विराटनगर हुलाकी मार्ग निर्माणाधीन रहेकोले मोरङको कटहरीबाट झोराहाट जोड्ने सडक पीच गर्न सके दुबै चारलेन सडक जोड्न सहज हुने बताए ।
समंसख मोहनकुमार खड्का राणाले सत्ता टिकाउन चारकोसे झाडी सकेको र पंचायतले पनि चारकोसे जंगलमै प्रहार गरेको र अहिलेका संघीय सरकारले नेपालको माटो पनि बेच्ने नीति तथा कार्यक्रम ल्याएको भन्दै त्यो नटिक्ने बताए । “राणा र पंचायतको कारण कतै कतैमात्र चारकोसे देखिन्छ । पानीको मुहान सकिने भएकोले प्रदेश सरकारको धारणा के हो सरकारले भन्नुपर्छ,” उनले भने,“माटो बचाउ अभियान चलाउनु पर्छ । प्रदेश सरकार एकपछि अर्को सांसदलाई बुख्याँचा बनाई रहेको छ । प्रदेशबासीले आम नागरिक र स्वास्थ्यकर्मीलाई खोप माग गरेको थियो । आम नगारिकको लागि खोपको व्यवस्था भएन ।”
सांसद मोहम्मद ताहिर मियाँले सुनसरीको हरिनगरा जोड्ने पुल निर्माणमा भएको ढिलासुस्तीले बाढीको बेला शुरु हुने बर्खा लाग्न लागेकोले जनता त्रासमा रहेको बताए । सांसद रामचन्द्र लिम्बूले खेती किसानी गर्ने बेलामा जनताले मलखाद नपाउने समस्याले संधै कठिन हुने गरेको बताए । भने,“अनुदानको भरमा मात्र कोरोना विरुद्धको खोप लगाउनु पर्ने अवस्था छ । अब प्रदेश सरकारले पहल लिनुपर्छ ।”