विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसद केदार कार्कीले सरकार चलाउन र जनताप्रति जिम्मेवार बन्न नसक्ने भए फुर्सद लिएर आफ्नै दलको अरु कसैलाई सरकारको नेतृत्व दिन मुख्यमन्त्री शेरधन राई समक्ष आग्रह गरेका छन् ।
बुधबार प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै कार्कीले महामारीका बेला जनताले अपेक्षा गरेअनुसार काम गर्नै नसकेको सरकार आश्वासनको पुलिन्दाले मात्र भरिएको आरोप लगाए । भने, “सरकार आफू काम गर्न नसक्ने अवस्थामा पुगेपछि सरकार विपक्षीका कारण काम गर्न नसकेको भन्ने आरोप लगाउने गरिएको छ । मुख्यमन्त्री आफैं सदनमा उभिएर झुट बोलिरहनु भएको छ । बरु आफूँ काम गर्न सक्नुहुन्न भने आफ्नै दलको काम गर्न सक्नेलाई सरकारको नेतृत्व गर्न दिनुहोस ।”
जनतलाई चाहिने आवश्यकताका बेला पनि सरकार नभेटिएको अनि गाउँ गाउँमा सिंहदरबार आयो भनिएपनि प्रदेश १ का मन्त्रीहरुका लागि कार्यालय र आवास बनाइएपनि सबै मन्त्री चैं काठमाडौ मै व्यस्त हुने गरेको पाइएको सुनाए । भने,“मन्त्रीहरु काठमाडौ जान व्यस्त हुनुहुन्छ । सरकार कहाँ छ ? मुख्यमन्त्री ज्यूलाई पनि गाली गर्नु हुन्न मधुमास मनाउन पाउनु पर्छ । जनता मर्दै जाने सरकार लास गन्दै जाने गर्दैछ ।”
कार्कीले विराटनगरमा दश दिनमा कोरोना अस्प्ताल बनाएको भनेर दाबी गरेपनि त्यो बन्द रहेको बताए । “९६ वटा बेडको नगारिक केयर सेन्टर जनताको पहलमा बनेको हो । सरकारले नाक घोक्र्याएको छ । बनाएको भए ८० बेडको अस्पताल किन बन्द छ ?,” कार्कीले भने, “झापामै होम आइसोलेसनमा बिरामी मर्न लागेपछि बिएन्डसीमा लिएर जाँदा भर्ना लिएन, फर्काएर ल्यायो मान्छे मर्यो । रेम्डेसिभिरमा डाक्टर र मानिस मिलेर कालोधन्दा भई रहेको छ । सामाजिक विकास समितिले अनुगमन गरेको छ । तर, सांसदलाई अनुगमन गर्न लगाउने अनि सरकार भाग्ने ?”
एमालेको सरकारले इश्वरको नाममा सपथ नलिने गरेको र जनताको नाममा जति पटक सपथ लिएपनि ठग्न पाइने रहेछ भनेर लिने गरेको आरोप लगाए । उनले जनता त ठग्न पाइएने तर आफूँभित्र भएको इश्वर आत्मा भएकोले त्यसलाई ढांट्न नसक्ने बताए ।
मुख्यमन्त्री राईले सांसद र जनतालाई पनि ठगेको भन्दै कार्कीले कोरोनाको उपचारका लागि छुट्याएको ५० करोड रकम कहाँ गयो भन्ने प्रश्न गर्दै निजी अस्पतालमा संक्रमितले चर्को मूल्य चुकाउनु पर्ने अवस्था रहेको भन्दै जनतालाई घरभित्र थुनेर नुन खान नदिने सरकारले अनलाइन कक्षाको सपना बाँढ्ने काम गरेको बताए । भने, “बरु खोप किन्ने प्रस्ताव गर्नुहोस । शिक्षक र विद्यार्थीलाई खोप हान्न किनेर ल्याउँ । तर प्रदेश सभामा आएर झुट नबोल्नुहोस ।”
सरकारले ल्याएको बजेट कार्यान्वयन हुन नसकेको र जनताले पाउने तथा महशुष गर्ने गरी बजेटको किताब बोकेर आउन सुझाव दिए । “हामीले सरकार छ भन्ने अनुभूति दिलाउन सक्नुपर्छ ।
कसले कुन बजेट ल्यायो थाहा छैन तर सरकारले ल्याएको हो । यो बजेट हावाको पोका हो । टिक्दैन भनेको त्यो पनि टिकेन,” कार्कीले भने, “सरकारले प्रशंसामात्र खोज्नु हुन्न । प्रतिपक्षले गहन अध्ययन गरेर सुझाव दिएको रहेछ भन्ने ग्रहण गर्नुपर्छ । बजेट र विकास मन्त्रीका क्षेत्र, टोल र घर अगाडिको नालाबाहेकमा पुग्न सकेन ।”
प्रदेशसभामा बुधबारदेखि विनियोजन विधेयक २०७८ का सिद्धान्त र प्राथमिकतामाथि छलफल शुरु भएको छ ।