इटहरी । समुदाय स्तरमा फैलिएको नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणको जोखिमलाइ न्युनिकरण गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको निषेधाज्ञा आज ३५ दिन पुरा भएको छ ।
यस अवधिमा इटहरीभित्र २५ वटा अपराधका घटना भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । प्रशासनले जारी गरेको निषेधाज्ञा अवधिमा इटहरी भित्र धेरैजसो आत्महत्या, चोरी र बलात्कार जस्ता जघन्य अपराधका घटना भएको छ ।
बैशाख १७ गते यता प्रहरीमा सबैभन्दा बढी ८ वटा आत्महत्याका घटना दर्ता भएका छन भने दोश्रोमा जबरजस्ती करणी ४ वटा दर्ता भएका छन् । घटनामा संलग्न ५ जनालाइ पक्राउ गरी कार्वाहि चलाएको छ । त्यसैगरी अभद्र ब्यवहार सम्बन्धी ३ वटा घटना दर्ता भएका छन भने संलग्न ४ जनालाइ पक्राउ गरिएको जनाइएको छ ।
लकडाउनकै समयमा इटहरीभित्र ४ वटा चोरीका अपराध भएको प्रहरी बिवरणमा उल्लेख गरेको छ भने घटनामा संलग्न ५ जनालाइ पक्राउ गरि कार्वाहि चलाएको छ । त्यस्तै सोहि अवधिमा कर्तव्य ज्यान र भवितब्य ज्यान सम्बन्धी एक एक घटना दर्ता भएका छन भने घटनामा संलग्न ४ जना पक्राउ परिसकेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार बिभिन्न अपराधिक गतिविधिमा संलग्न २९ जनालाइ पक्राउ गरी कानुनतः कार्वाहि गरिएको छ । बालबिवाह गर्ने र गराउने ५ जना , ज्यान मार्ने उद्योगमा एक जना , सवारी दुर्घटनामा संलग्न २, अंगभंगमा एक जना रहेका छन । यसै बिच प्रशासनले जारी गरेको निषेधाज्ञालाइ नियम सम्वत पालना गर्न र गराउन इलाका प्रहरी कार्यालय इटहरीले नियमित अनुगमनलाइ समेत प्रभावकारी बनाएको छ ।
ग्रामिण क्षेत्र देखि शहरी क्षेत्रमा प्रहरी संख्या बढाएर नियमित निगरानी गर्न थालिएको र निषेधाज्ञा उलंङघन गर्ने जो कोहिलाइ पनि नियन्त्रणमा लिइ जरिवाना असुल उपर गरिएको इटहरी प्रहरीका प्रमुख डिएसपी अर्जुन केसीले बताए ।